
धादिङ । विद्यालयको वार्षिक कार्यतालिका अनुसार एड्भान्स एकेडेमीले तहगत रुपमा मेहेन्दी तथा भलिबल प्रतियोगिता सम्पन्न गरेको छ।
कक्षा ६ देखि १० सम्म छात्राहरूका लागि मेहेन्दी प्रतियोगिता र छात्रहरूका लागि भलिबल प्रतियोगिता आयोजना गरियो भने कक्षा १ देखि ५ सम्म व्यक्तिगत क्षमता अभिवृद्धिका विभिन्न क्रियाकलाप सञ्चालन गरिएका थिए।
प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। मेहेन्दी प्रतियोगितामा कक्षा ६ की सदिक्षा शाक्य, कक्षा ७ की प्रश्ना थापा मगर, कक्षा ८ की स्मृति गुरुङ, कक्षा ९ की समिक्षा गुरुङ तथा कक्षा १० की सिम्रन शाह उत्कृष्ट घोषित भए।
भलिबल प्रतियोगितामा हरियो सदन प्रथम, पहेँलो सदन द्वितीय तथा रातो र निलो सदन तृतीय भएका थिए।
शारीरिक, मानसिक, मनोरञ्जनात्मक उद्देश्यका साथै सौन्दर्यबोध, आपसी सहकार्य, सांस्कृतिक चेतना र कल्पनाशक्ति विकासका लागि यस्ता प्रतियोगिताहरू उपयोगी हुने विश्वास विद्यालयले लिएको छ।
प्रतियोगिताका विजयीहरूलाई प्रधानाध्यापक भिमबहादुर श्रेष्ठ, एकेडेमी संयोजक थम्कराज बसौला र भाइस प्रिन्सिपलको उपस्थितिमा प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो।
शुक्रबार सम्पन्न कार्यक्रममा विद्यालयले यस्ता गतिविधिहरू विद्यार्थीको शैक्षिक तथा सृजनात्मक विकासमा सहयोग पुर्याउने बताएको छ।
