धादिङको शिर: यात्रा सिङ्ल्हाको

Avatar photo
Dhadingpost
साउन ११, २०८२

राजधानी काठमाडौं नजिकै पदयात्रा जाने शान्त, मनोरम अनि नयाँ गन्तव्यको खोजीमा हुनुहुन्छ भने सिङ्ल्हा पास तपाईको रोजाइमा पर्न सक्छ । समुन्द्री सतहदेखि ४,०४० मिटर उचाइमा पर्ने सिङ्ल्हा धादिङको रुबीभ्याली तथा खनियाबास गाउँपालिका, नुवाकोटको किस्पाङ र रसुवाको उत्तरगया गाउँपालिकाको शिरमा पर्छ । उत्तरी छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बतसंगको नाका समेत हो यो । मौसम खुलेको बेला यहाँदेखि लाङटाङ, पाविल, गणेश हिमाल, हिमालचुली, मनास्लु, अन्नपुर्णसम्मका हिमशृङखलाहरु देखिन्छन् । आँखै अगाडी झै लहरै सेताम्मे देखिने यि हिमशृङ्खलाले जोकसैलाई मन्त्रमुग्ध पारिदिन्छन् । करिब ३,७०० मिटरदेखि माथिको उचाइमा फैलिएका अग्ला चट्टानी डाँडाकाडा, थुम्का र टाकुरामा फराकिला घाँसे मैदानी पाटन, खोचदेखि पाटनसम्मका खर्कहरुमा भेडाच्याङग्रा र चौरी गोठहरु लावालस्कर यहाँका आकर्षण हुन् । सिङ्ल्हा आसपास बाक्लै बसोबास रहेको आदिवासी जनजाति तामाङ जातिको भाषा, संस्कार, संस्कृति, बोलीचाली, भेषभुषा र रितीरिवाज अनुभुती गर्न पाउनु तथा स्थानीय मौलिक खानापानको स्वाद चाख्न पाउनु यस यात्राका ‘कम्प्लिमेन्टरी’ हुन् ।

मिथक तामाङ सभ्यता उत्पत्तिको
सिङ्ल्हाबारे लिखित दस्तावेज खासै भेटिदैनन् । यसबारे मिथक र किंवदन्तीहरु गावैपिच्छे, लामा, झाक्री, अगुवा, अध्येतापिच्छे फरक भएपनि प्राचीन, ऐतिहासिक, धार्मिक, साँस्कृतिक धरोहरका मान्छन् । सिङ्ल्हालाई पर्यटकीय गन्तव्यका रुपमा विस्तार गर्न तम्सिएका धादिङका स्थानीय होटल व्यवसायी तथा अगुवा मंगलबहादुर तामाङको भनाइमा धेरै पहिले तिब्बत भोटबाट पाँच भाई तामाङहरु सिङ्ल्हा आइपुगेपछि आसपासका गाउँतिर छरिएर बसे । कृषि र पशुपालनमा लागे । उनीहरुकै सन्तानहरु फैलिएर तामाङ बाहुल्यता भयो । जनगणना अनुसार ७५ प्रतिशत हाराहारी जनसंख्या तामाङ (मोक्तान, घिसिङ, व्लोन, वाइवा, पाख्रीन, लोप्चन, रुम्बा, वल, गोले, बम्जन, थोकर, थिङ, दोङ लगायत ४० भन्दा बढि थरका) छन् । उनीहरुले मुख्यगरी बुद्ध जयन्ती, ल्होसार, दशै, तिहार चाडपर्व मान्छन् । तामाङहरु बौद्ध धर्ममा आस्था राख्ने भएकाले सिङ्ल्हालाई बुद्धले बास बसेको ठाउँ तथा बोन धर्म (नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोश अनुसार बुद्ध धर्मभन्दा पहिलेदेखि हिमाली क्षेत्र र तिब्बततिर चलेको प्रकृति र जीवनको सम्बन्धमा आधारित तन्त्रमन्त्र र झारफुकमा विश्वास गर्ने) उत्पत्ति भएको ठाउँ पनि मान्छन् । तामाङ भाषामा सिङ्ल्हालाई ‘सिङ्’ र ‘ल्हा’ शब्द मिलेर बनेको भनि अथ्र्याउने गरिन्छ । रुबी गाउ“पालिका ३ का वडाध्यक्ष फेदोर्जे तामाङले ‘सिङ्’ भनेको भुमिदेवी आमाछोरी बस्ने र ‘ल्हा’ भनेको लेक अर्थात भुमिदेवी आमाछोरी बस्ने ठाउ“ भन्छन् । सिङ्ल्हामा भएका दुई थुम्कालाई आमा र छोरीको संज्ञा दिइएको छ । यसमा आस्था राख्नेहरु सिङ्ल्हा पुगेर दुई थुम्कामा बत्ति बाल्ने, दज्र्यु, लुङ्दा लाउने गर्छन् । ‘सिङ्ल्हाले धादिङ, नुवाकोट र रसुवालाई जोड्छ, यहा“को तामाङ सभ्यता र पहिचानलाई जोगाउँछ,’ वडाध्यक्ष तामाङले भने ।

जनविश्वास
सिङ्ल्हा डा“डाको टाकुरोमा माने छ । तिनै पा“च भाईले पितृलाई पुज्न ढुंगा उठाएर माने बनाएको जनविश्वास छ । त्यही आसपास एक भेडागेठालाको सपनामा आध्यात्मिक शक्ति आएर मनोकांक्षाबारे सोधनी हुदा उनले लामो कपालको टुप्पी मागेको पाएदेखि मनोकामना पुरा हुने भएकाले स्थानीयले मान्दै, पुज्दै आएको पाइन्छ । बोन्बो अर्थात् बोन धर्मका अगुवाहरु सिङ्ल्हा पुग्ने र माने घुम्दै गाउ“समाजमा सुव्यफाव्य होस्, अन्नबाली सप्रियोस्, रोगव्याधी नफैलिओस् भनि सुख, शान्ती र समृद्धि माग्ने गर्छन् । ‘जिजुबाजेको पालादेखिको रितिरिवाज हो यो,’ झार्लाङस्थित ७५ बर्षिय झाक्री सुन्तुलाङ तामाङ भन्छन्, ‘युवा तथा वयस्कहरु सोचेको पुरा होस्, आर्यआर्जन होस् भनि माग्न आउँछन् । बालबालिका बाहेक ७५÷७६ बर्षसम्मका बृद्धबृद्धाहरु आयु लामो होस् भनेर दर्शन गर्न पुग्छन् । सन्तान नभएकाहरु सन्तान होस् भनेर माग्न आउँछन् ।’

बौद्ध धर्म अध्येता तथा अनुसन्धानकर्ता अजितमान तामाङको दृष्टिकोण अलि भिन्न छ । उनले ‘सिङ्’ लाई ‘रेड माउन्टेन’ अर्थात हल्का रातो रंगको पहाड र ‘ल्हा’ लाई लेक भन्छन् । अर्थात रातो–रातो रंगको चट्टानी पहाड भएको ठाउँ भन्ने हुन्छ । अर्को चाहि देवीदेवताको बास भएको स्थल पनि भनिने उनले बताए । रुबी (रातो रंगको बहुमुल्य पत्थर) पाइने भएकाले भुगर्भवेत्ताहरु सिङ्ल्हा पासतिर अन्वेषण गर्न आइपुग्ने गरेका सुनाए । उनले यसलाई बौद्ध धर्मगुरु पद्मसंभव (रिम्पोछे) हिडेको प्राचीन धार्मिक तीर्थस्थल रुटका रुपमा व्याख्या गर्छन् । ‘बोन्बो, लामाहरुले, स्थानीय लोकभाकाका गितमा नेपाल र चीनको नाकाका रुपमा सिङ्ल्हालाई वर्णन गरेको पाइन्छ,’ उनले भने, ‘गुरुपद्मसंभवको पालामा उहा“ले नेपालबाट तिब्बत जाने क्रममा बागमतीको मुहान बागद्धारबाट सिङ्ल्हा, पाङसाङ, हुदै केरुङ माङयुल हुदै तिब्बत पुगेको भनिन्छ, यसरी गुरुको यात्रावृतान्त, जिवनी र ऐतिहासिकतासंग जोडिएको छ ।’ सिङ्ल्हालाई हिन्दु र बौद्ध धर्मावलम्बीहरुले मान्छन् ।

घुम्ने सिजन
जुनसुकै याममा घुम्न सकिन्छ । मौसम खुल्ने र बर्षातको सास्ती नहुने भएकाले वसन्त ऋतृ (चैत तथा वैशाख महिना) र शरद् ऋतृ (असोज तथा कात्तिक) लाई उपयुक्त समय मानिन्छ । बर्षा ऋतु (साउन तथा भदौ) र शिशिर (माघ तथा फागुन) मा पनि जान सकिन्छ । बर्खामासमा हरियाली फाँटहरुमा भुइकुहिरोको लुकामारीले स्वागत गर्छन् । पुष, माघ र फागुनमा हिउँफुलले स्वागत गर्छन् । यसपछि लालीगुरास, चिमाल जस्ता विभिन्न प्रजातीका गुरास र रंगीचंगी फुलले स्वागत गर्छन् । लेकाली सिरेटोले स्पर्श गरिरहन्छन् । औषधिजन्य गुण भएको जडिबुटी धेरै पाइन्छन् । आन्तरिक तथा बाह्य पर्यटक घुम्न पुग्छन् । विदेशी पर्यटहरु रसुवातिर घुमेर सिङ्ल्हा पास भएर फर्किने गरेका छन् । मंगलबहादुर तामाङ केही बर्षअघि बंगलादेशी टोली भेटेका थिए । केही महिना अघि कोरियन टोलीले पनि सिङ्ल्हाको यात्रा गरे ।

बाटामा सुचना केन्द्र र संकेतहरु पर्याप्त नरहेकाले अलमलिने डर हुने हुदा सिङ्ल्हाको यात्रा तय गर्नुअघि स्थानीय गाइड लिनु उत्तम र सुरक्षित हुन्छ । खासगरी हिउ“दयाममा जादा पानीको स्रोत र बस्ने ठाउँबारे थाहै पाइदैन । अनकन्टार जंगलबीचमा बास बस्न पनि जंगली जनावरबाट असुरक्षा हुन्छ । यो रुटमा सुविधासम्पन्न होटल पसल पाइने कुरै भएन । आफैले न्यायो कपडा, स्लिपिङ ब्याग, चाहिने बन्दोबस्तीमका सामान बोकेर हिड्नुपर्छ । पदयात्रा सामान्य, मध्यमदेखि जटिल खालको छ – खोचदेखि पहाड उक्लिने, पहाडको फेदैफेद हिड्ने त कतै ९० डिग्री कोणका ओल्लो र पल्लो पहाड उक्लिनेओलिर्ने ।

सिङ्ल्हा यात्राका लागि कम्तीमा पाँचदेखि एकहप्ताको समय छुट्याउनुपर्छ । काठमाडौंदेखि त्यहाँसम्म पुग्न तीनवटै जिल्ला मध्ये जुनै जिल्लाको रुट लिए हुन्छ । धादिङ भएर जानेका लागि काठमाडौंदेखि धादिङबेसी हुदै खनियाँबास –१ झार्लाङ गाउँसम्म सडक यात्राको पहुँच छ । झार्लाङको रुट भएर जानेले झण्डै ७० बर्षदेखि निरन्तर बगिरहेको पहिरो नियाल्न पाउँछन् । जसलाई ‘दक्षिण एसियाकै ठुलो पहिरो’ पनि भनिन्छ । यसैगरी गिलिन्जो गुम्बा, तातोपानी लगायत स्थलहरु छन् ।
समुन्द्री सतहदेखि करिब १,६०० मिटर उचाइमा रहेको झार्लाङबाट सिङ्ल्हाको पैदल यात्रा सुरु गर्दा गावैबाट ढुंगा बिच्छ्याइएका सिढी उक्लिनुपर्छ । हरियाली जंगल, जंगली जनावर र डाँडाकाडाँको दृश्यमा रमाउदै उचाइमा उक्लिदै जादा कतै पोखरी त कतै खर्क भेटिन्छन् । हिड्न सक्नेले एकैदिनमा झार्लाङबाट मचेत खर्क (३,७४० मिटर) पुग्न सक्छन् । विस्तारै हिड्नेले दुई दिनको यात्रा तय गरे उपयुक्त हुन्छ । मचेतबाट दुई देखि तीन घण्टा उकालो लागेपछि सिङ्ल्हा पुगिन्छ । सिङ्ल्हामा भने बिहानै उठेर जादा उपयुक्त हुन्छ । विहान मौसम खुल्ने सम्भावना धेरै हुन्छ । पाटनै पाटन सबेरै उकालो लाग्दा झुल्के घामको दृश्यपान गर्न पाइन्छ । सिङ्ल्हामा पुग्दासम्म हिमालहरु खुलिसकेका हुन्छन् । दिनभर घुमेर मचेत खर्कमा नै बाँस बस्न फर्के हुन्छ । नभए केही घण्टा घुमेर झार्लाङ नै फर्कन सकिन्छ । या त रुवी भ्याली, सेर्तुङ जान सकिन्छ । रसुवाको स्याफ्रुबेसी तथा नुवाकोट पनि जान सकिन्छ ।

सिङ्ल्हा जादा पदयात्रा सुरु हुने गाउँहरुमा परम्परागत रैथाने ज्ञानमा आधारित थुन्से, डोको, डालो बुन्ने कला पनि देख्न सकिन्छ । आगोमा पकाएको ढिडो, आलु, मकै भटमासको स्थानीय स्वाद लिन पाइन्छ । ९९ प्रतिशतले खाना पकाउन काठ, दाउराकै प्रयोग गर्छन् । तामाङ पोशाक तथा भेषभुषामा सजिएर प्रस्तुती गरिने यस समुदायको लोकप्रिय मेन्दोमाया (तामाङ सेलो) हेर्न पाइन्छ । साविक दार्खा, सत्यदेवी र झार्लाङ गाविस गाभेर बनेको खनियाबाँस गाउँपालिकामा बहुधार्मिक तामाङहरुको बस्ती भएपनि धेरैजसोले मातृभाषामा कुराकानी गर्न रुचाउँछन् । यहाँ कुल जनसंख्या १३,९२२ मध्ये बौद्ध धर्म मान्नेहरु ७,०२० जना छन् । क्रिश्चियन धर्म मान्नेहरु ५,६४७ जना छन् । हिन्दु धर्म मान्नेहरु १,२५५ जना छन् ।

पर्यटन प्रर्वद्धनको थालनी
सिङ्ल्हालाई पर्यटकिय गन्तव्य बनाउनका लागि स्थानीय प्रयास भैरहेको छ । पालिकाहरुले सिङ्ल्हा जाने गोरेटोबाटो मर्मत गर्ने, ढुंगा छाप्ने, केही खर्कमा तीर्थयात्री, पर्यटक तथा बटुवाहरु बस्न मिल्ने पाहुनाघरहरु बनाएका छन् । जनैपुर्णिमाका दिन मात्रै मेला लाग्ने चलन थियो भने यसबर्षदेखि बुद्धजयन्तीका दिन पनि मेला, महोत्सव गर्न थालिएको छ । गत बैशाख २७ देखि २९ गतेसम्म सिङ्ल्हा पर्यटन क्षेत्र विकास समाजले ‘प्रथम सिङ्ल्हा पर्यटन मेला’ आयोजना गर्यो । नयाँ पुस्ताका धामी २१ बर्षिय मिलन पाख्रिनले धार्मिक महत्व बोकेको यस क्षेत्रलाई अब भने पर्यटनमा जोडेर युवाहरुलाई गाउँमा नै रोजगार सिर्जना गर्नुपर्ने बताए । यो पहिलो प्रयास भएकाले निरन्तरता दिन स्थानीय सरकारदेखि केन्द्र सरकारको सहयोग र समन्वय जरुरी रहेको बताए ।

नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य रहेका उक्त पर्यटन मेला आयोजक मध्येका दिनेश तामाङले आगामी बर्षदेखि पर्यटन प्रवद्र्धनका गतिविधिलाई बढाइने, अल्ट्रा म्याराथन सहित भव्य कार्यक्रम गर्ने महत्वकांक्षी योजना सुनाए । तर, काठमाडौंसंग सिमाना जोडिएको पदयात्रा गन्तव्य भएपनि सिङ्ल्हामा आधारभुत सेवासुविधाहरु कै समस्या छ । पदयात्रा सुरु हुने गाउँ छोडेपछि शौचालय काही भेटिदैन । धादिङबेसीबाट पहिलो पटक सिङ्ल्हा पुगेकी निर्माया तामाङले भनिन्, ‘पानी र ‘ट्वाइलेट’को चाहि व्यवस्था गर्नैपर्ने रहेछ, नभए हामी छोरी मान्छेहरुका लागि निकै समस्या हुने रहेछ ।’

शैक्षिक, आर्थिक तथा सामाजिक दृष्टिकोणले पछाडी नै रहेको यो क्षेत्रमा पहिले बढिजसो झैझगडा हुने ग¥थ्यो । पर्यटकलाई सुरक्षाको डर थियो । सिङ्ल्हा पास थाहा पाएर पनि घुम्न जान पर्यटकहरु हिच्किचाउथेँ । स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि यो दृष्टिकोण चिर्ने प्रयासरत छन् । तिब्बतसंग सिमानामा पर्ने भएकाले केही समयअघि पिप्लिङमा बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरिएको छ । ‘भौगोलिक कठिनाइ भएपनि धेरै भन्दा धेरै पर्यटक भित्राउने सहजताका लागि योजना, बजेटहरु लगाउने र सिङ्ल्हालाई प्राकृतिक स्थितीमा नै जोगाएर राख्ने सोचेका छौं,’ रुबी भ्यालीका वडाध्यक्ष तामाङले भने ।

तस्बिरहरुः शुशिल श्रेष्ठ, एनएफपीजे