त्रिपुरासुन्दरीको काठमाडौं शिविरमा २६५ जनाद्वारा सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नविकरण

Avatar photo
Dhadingpost
साउन ११, २०८२

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने पालिकाबासीलाई लक्षित गरी काठमाडौंमा आयोजना गरेको परिचयपत्र नविकरण शिविरमा २६५ जनाले लाभ लिएका छन् । शिविर आन्तरिक राजश्व कार्यालय परिसर, कलंकीमा आयोजना गरिएको थियो ।

पालिकाका उप-प्रमुख देवराज धरेलका अनुसार पालिकाले स्थायी ठेगाना भई काठमाडौं बस्दै आएका लाभग्राहीलाई लक्षित गरी साउन ९ र १० गते आयोजना गरिएको शिविरमा २६५ जनाले आफ्नो परिचय पत्र नविकरण गराएका हुन् ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को दफा ४(४) अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पुर्ण लाभग्राहीहरूले प्रत्येक वर्ष भदौ मसान्तभित्र परिचयपत्र नविकरण गरिसक्नुपर्ने र चालु आर्थिक वर्ष २०८२-८३ बाट अनिवार्य रुपमा वायोमेट्रिक प्रणालीमार्फत नविकरण गर्नुपर्ने व्यवस्था भएकोले वर्षादको समयमा लक्ष्यित व्यक्तिहरु पालिका आउन अफ्ठ्यारो पर्न सक्ने आँकलन गर्दै काठमाडौं पछि चितवन र पोखरामा पनि यो शिविर संचालन गर्ने मिति तय भईसकेको उनले बताए ।

उप प्रमुख धरेलका अनुसार
चितवनमा २०८२/०४/१२ र १३ गते,
बिहान ०८:०० बजेदेखि साँझ ०५:०० बजेसम्म,
रत्ननगर न.पा. वडा नम्बर. २ को कार्यालय परिसर, टाँडि

पोखरामा २०८२/०४/१५ र १६ गते,
बिहान ०८:०० बजेदेखि साझ ०५:०० बजेसम्म,
पोखरा म.न.पा. वडा नम्बर. ९ को कार्यालय परिसर, न्युरोड
सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरणका लागि शिविर संचालन हुने छ ।