
काठमाडौं । संसदीय दलको नेताबाट मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउन नेपाली काँग्रेसका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हाे । अविश्वासको प्रस्तावमा नेपाली काँग्रेसबाट हाल प्रतिनिधित्व गरिएका ४ मन्त्रीसहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन् । कांग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । लामालाई मुख्यमन्त्रीबाट हटाउनकाे लागि संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हाे ।
मुख्यमन्त्री परिवर्तनका लागि आज कांग्रेसबाट मन्त्री बनेका सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजिनामा दिएका छन् ।
कांग्रेसले लामाको स्थानमा इन्द्र बानियालाई नयाँ मुख्यमन्त्री बनाउन चाहेको छ । बानियाँ बागमती प्रदेश सभापति पनि हुन् ।
२०७९ पुस १३ गते भएको निर्वाचनमा बानियाँलाई ५ मतले हराएर लामा संसदीय दलको नेता निर्वाचित भएका थिए । बागमतीमा कांग्रेस र एमालेका गठवन्धन सरकार छ । कांग्रेसका ३७ जना सांसद छन् ।
