सल्यानटारका जोशन खड्का इजरायलमा सर्वोत्कृष्ट खेलाडी घोषित

Avatar photo
Dhadingpost
साउन ९, २०८२

प्रभु खड्का
धादिङ ।
धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटारमा जन्मिएर इजरायल रहँदै आएका जोशन खड्का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

इजरायलमा सम्पन्न झापा सुपर कप फुटबल प्रतियोगिता इजरायल-२०२५ मा उनी सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

सानै उमेरदेखि फुटबलमा गहिरो रुचि राख्दै आएका जोशन नेपाली माटोमै फुटबल खेल्दै विभिन्न उपाधिहरू जित्दै अघि बढेका थिए । जिल्लास्तरमा उत्कृष्ट खेलाडीको रूपमा चिनिएका जोशनको प्रेरणाले सल्यानटारमा नयाँ पुस्तामा फुटबलको झिनो उज्यालो होइन, दिपशिखा बनेको छ।

इजरायलको तेलअविवमा जुलाई १८ र १९ मा सम्पन्न भएको झापा सुपर कप फुटबल प्रतियोगिता नेपालीभाषी खेलप्रेमीहरूको एकता, स्वास्थ्य र भाइचाराको सन्देश फैलाउने उद्देश्यसहित आयोजना गरिएको थियो । दुई दिनसम्म चलेको प्रतिस्पर्धात्मक खेलपछि जोशनको टिम राइजिङ स्टार एफसी ले उपाधि हात पार्दै पहिलो संस्करणको विजेता बन्न सफल भएको थियो ।

फाइनल खेलमा राइजिङ स्टार एफसीले लायन तेलअविव एफसीलाई टाइब्रेकरमा ३–० ले पराजित गर्दै उपाधि जितेको थियो। निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेका थिए । प्रतियोगितामा जोशन खड्काको प्रदर्शन निर्णायक रह्यो । उनी सर्वोत्कृष्ट खेलाडी घोषित भए भने टिमका अन्य खेलाडीहरूले पनि विभिन्न विधामा पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा कूल ८ वटा नेपालीभाषी क्लबहरू, झापा एफसी इजरायल, लायन तेलअविव, सेभेन स्टार हाईफा, युनाइटेड दार्जिलिङ, कायापलट एफसी, मनिपुर गोर्खा एफसी, केवाइसी एफसी र राइजिङ स्टार एफसीको सहभागिता रहेको थियो । प्रतियोगिता ९ ए साइड नकआउट फर्म्याटमा सञ्चालन गरिएको थियो ।

विजेता टिमले १०,५०० शेकेल नगदसहित ट्रफी र मेडल प्राप्त गर्‍यो भने उपविजेता टिमले ५,५०० शेकेल प्राप्त गरेको आयोजक झापा एफसी इजरायलले जनाएको छ ।