धादिङमा साउन ३ गते यू-१७ का खेलाडी छनोट गरिने

Avatar photo
Dhadingpost
असार ३२, २०८२

धादिङ । अखिल नेपाल फुटबल संघको साउन १० गते भित्र जिल्ला छनोट गराई सक्नु भन्ने परिपत्र अनुसार धादिङ जिल्ला फुटबल संघले साउन ३ गते शनिबार गजुरीको गलौंदी खेल मैदानमा यू १७ का खेलाडी छनोट गर्ने कार्यक्रम तय भएको एन्फा धादिङका महासचिव रामहरि थापाले बताए ।

एन्फाको छनोट कार्यक्रम अनुसार १० गते भित्र जिल्ला छानोटमा परेका खेलाडी १५ गते भित्र हुने प्रदेश छानोट खेल्ने र प्रदेशबाट पनि छनोटमा परेका खेलाडीले श्रावण २२ गते देखि २५ गते हुने केन्द्रिय छनोटमा सहभागि हुने छन् भने केन्द्रिय छनोटमा परेका खेलाडीहरु मध्यबाट नेपाली राष्ट्रिय यू-१७ टिम बनाईने छ ।

दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार SAFF U-17 Championship 2025 प्रतियोगिता २०८२ भदौ ३० गते देखि आश्विन ११ गते (सन् २०२५ सेप्टेम्बर १५ देखि २७ तारिख) सम्म श्रीलंकामा सञ्चालन हुने हुने छ । उक्त प्रतियोगिताको लागि राष्ट्रिय टिम बनाउन छनोट गर्न लागिएको एन्फाले जनाएको छ ।

जिल्ला छनोट प्रतियोगितामा सहभागिता जनाउन खेलाडीको जन्म मिति (Between 1st Jan 2009 to 31st December 2011) २०६५ पौष १७ गते देखि २०६८ पौष १६ गते भित्रको हुनुपर्ने छ भने, जन्मदर्ताको पत्रमाण पत्र, नावालक परिचय पत्र, नागरिकता वा पासर्पोट अनिवार्य साथमा हुनु पर्ने महासचिव थापाले बताए ।