धादिङका प्रदेश सांसद डम्बर तामाङ विरुद्ध पक्राउ पुर्जी जारी

Avatar photo
Dhadingpost
असार २१, २०८२

धादिङ । धादिङ २ (खं) बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका बागमती प्रदेशसभा सदस्य डम्बर तामाङ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

तामाङविरुद्ध सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङले जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा ललितपुर जिल्ला अदालतले तामाङसहितका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

पक्राउ पुर्जी जारी हुनेहरूमा प्रो-सोलुसन्सका संस्थापकहरू सन्तोष पौडेल, सञ्चिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादव रहेको बुझिएको छ ।

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनअन्तर्गतको चिलिमेको २२० केभीएको जीआईएस सब-स्टेशन र त्रिशूलीको २२० केभीएको हाइव्रिड सब-स्टेशन निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको थियो । सहन इन्जिनियरिङ कन्सर्न प्रालिले उक्त ठेक्काको सब-कन्ट्रयाक्ट पाएको थियो ।

चिनियाँ कम्पनीले सहनलाई गर्नुपर्ने भुक्तानी सीधै तामाङको प्रो. सोलुसन्सलाई दिइएको थियो, तर उसले सहनलाई भने रकम नदिएपछि विवाद भएको र उक्त विवाद प्रहरी हुँदै अदालतसम्म पुगेको थियो ।