प्याब्सन धादिङको प्रथम त्रैमासिक परीक्षा आजबाट सुरु

Avatar photo
Dhadingpost
असार २०, २०८२

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) धादिङको शैक्षिक पात्रो अनुसार आजदेखि प्रथम त्रैमासिक परीक्षा औपचारिक रूपमा सुरु भएको छ । धादिङ जिल्लाभरिका ३२ वटा सदस्य विद्यालयहरूमा एकै साथ यो परीक्षा सञ्चालन भइरहेको छ ।

प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टका अनुसार जिल्लाका ३२ वटा विद्यालयका करिब १३ हजारभन्दा बढी विद्यार्थीहरू यो परीक्षामा सहभागी भइरहेका छन् । सबै विद्यालयहरूमा एउटै पाठ्यपुस्तक, एउटै प्रश्नपत्र र एउटै परीक्षा योजना लागू गरिएको छ ।

“यस प्रकारको सामूहिक परीक्षा प्रणालीले विद्यार्थीहरूलाई अझ राम्रोसँग अध्ययन गर्न प्रेरित गर्छ र शिक्षकहरू पनि परीक्षालाई लिएर गम्भीर बन्ने गर्छन्,” अध्यक्ष भट्टले बताए ।

त्यसैगरी, प्याब्सन धादिङका सचिव तथा परीक्षा संयोजक भीमबहादुर श्रेष्ठले भने, “हामीले प्रत्येक वर्ष प्रथम, दोस्रो, तेस्रो र वार्षिक परीक्षा संयुक्त रूपमा सञ्चालन गर्छौं, जसले विद्यार्थीहरूको समग्र विकास र शैक्षिक गुणस्तर सुधार गर्न सहयोग पुर्‍याउँछ।”

प्याब्सन धादिङले जिल्लाभर समुचित र समान शिक्षा प्रवाह गर्न यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ।