वन कार्यालयले गणेश हिमाल वन संरक्षण क्षेत्र प्रवर्धनको लागि अन्तरक्रिया गर्ने

Avatar photo
Dhadingpost
असार १६, २०८२

धादिङ । डिभिजन वन कार्यालय, धादिङले यहि असार २० गते राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम (ब.उ.शी.नं. ३२९००१०२) अन्तर्गतको धादिङ जिल्लाको उत्तरी क्षेत्रमा रहेको प्रस्तावित गणेश हिमाल वन संरक्षण क्षेत्र प्रवर्धनको लागि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

अन्तरक्रियाका लागि सरोकालवाला व्यक्ति र संस्थालाई पत्रचार गरि सकिएको छ । कार्यक्रम बिहान ७ देखि १२ बजे सम्म आईके होटलमा हुने डिभिजन वन कार्यालय, धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले धादिङपोष्टलाई बताए ।

३७,३७६.९ हेक्टर क्षेत्रफलमा फैलिएको गणेश हिमाल संरक्षण क्षेत्रमा गङ्गाजमुना, रुवीभ्याली र खनियाबासका भूभागहरू पर्छन् । यो क्षेत्र चीनसँग सीमा जोडिएको वन्यजन्तु कोरिडोर पनि हो ।

“हिमचुतुवा, हाब्रे, हिमाली भालुजस्ता दुर्लभ वन्यजन्तु तथा औषधीय जडीबुटीहरू पाइने यो क्षेत्रमा गुणस्तरीय पर्यापर्यटनको ठूलो सम्भावना छ,” । यस क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि यसै क्षेत्रका जनप्रतिनीधि, पर्यटन संघ केन्द्रिय स्तरमा जोडिएका धादिङका संघ संस्था, व्यक्तिहरु नलागी सम्भव छैन, त्यसैले २० गते जिल्ला स्तरीय अन्तरक्रिया राखिएको प्रमुख आचार्य बताउँछन् ।