असली गाईजात्रा

Avatar photo
Dhadingpost
भदौ ४, २०८१

भ्रष्टाचारको जब यहाँ, फाइल खुल्यो बेसरी
चोरको खुट्टा काट् भन्दा, खुट्टा बाहिर झिके सरी
नेपाली नटवरलाल हेर, हदैसम्म डरायो
रातारात सहमती, बिचबाटोमै हरायो !

महाराजले महासेठलाई, काखी च्याप्नु भएछ
‘बिजुलीको लाइन नकाट्’ हुकुम पनि बक्सेछ
आफ्नो मान्छे मात्र प्यारो, यस्तो गर्न पाइँदैन
गाउँ अझै अन्धकार छ, त्यता बत्ती चाहिँदैन?

अपराधीकै चर्चा चल्छ, इमान्दारलाई गार्हो छ
प्रदुषण र दुर्घटनाले, बाँच्न झनै सार्हो छ
ठिकै छ त जे भएनी, एक नम्बरमा पर्या छम्
बेइमानीको बीउ हामीले, संसारभर छर्या छम्

यूवा जति देश बाहिर, देशै खोक्रो भइसक्यो
उन्नती र प्रगतीको, शुभसाइत गइसक्यो
यस्तै क्रम चलिरहे, गाउँ शून्य हुने भो !
मान्छे मरे घाट सम्म, लाने अनि जाने को ?

-મહાન ત્યાગી

x