
काठमाडौं । आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार नामिबियामाथि सानदार जित निकालेको छ ।
जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय इनिङको योगदान दिए । आइसिसी विश्वकप लिग २ मा नेपालले पहिलो पटक एकै सिरिजमा तीन खेल जितेको हो ।
नेपालका युवा ओपनर आसिफ शेखले ९८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ८१ रनको योगदान दिए । आसिफको यो ओडिआई करिअरको छैटौं अर्धशतक हो । अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल ७४ बलमा ५ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए ।
ज्ञानेन्द्रको यो ओडिआई करिअरको सातौं अर्धशतक हो । दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ कीर्तिमानी शतकीय साझेदारी गरेका थिए । जुन कुनैपनि विकेटका लागि नेपालबाट ओडिआईमा बनेको उच्च साझेदारी हो । यसअघि नामिबियाविरुद्ध नै कुशल भुर्तेल र रोहित पौडेलले तेस्रो विकेटका लागि १ सय ३३ रनको शतकीय साझेदारी गरेका थिए ।
कुशल मल्ल ४९ बलमा ६ चौका र ४ छक्कासहित ६२ रनमा आउट भए । कुशलको यो ओडिआई करिअरको तेस्रो र लगातार दोस्रो अर्धशतक हो । कुशलले स्कटल्यान्डविरुद्ध ८१ रनको इनिङ खेलेका थिए । चौथो विकेटका लागि रोहित र कुशल मल्लले ९२ रनको साझेदारी गर्दै जित नजिक पुर्याएका थिए । रोहित पौडेल ४३ बलमा ५ चौकासहित ३९ रनमा आउट भए ।
तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले तेस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेललाई एक रनमा क्याच आउट गराएका थिए । स्क्वायर लेगमा कुशल पिक्की या फ्रान्सबाट क्याच आउट भएका थिए । त्यसपछि ज्ञानेन्द्र र आसिफले कीर्तिमानी शतकीय साझेदारी गर्दै जित सहज बनाएका थिए ।
दीपेन्द्र एक रनमा आउट भए । सन्दीप जोेरा ३ रनमा आउट भए । सोमपाल कामी ८ रनमा अविजित रहे । सोमपाल कामीले स्पिनर जेरार्ड इरास्मसलाई लङअफमा विजयी चौका प्रहार गर्दै खेल सकाएका थिए । नेपालले अव लिग २ मा ९ खेल खेल्न बाँकी छ । घरेलु मैदानमा ५ र युएईमा चार खेल हुनेछन् । नेपाल शीर्ष तीनमा पर्न सबै खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा पर्दै आडिआई मान्यता जोगाउन नेपालले ९ मध्य अव ६ खेल जित्नुपर्ने हुन्छ ।
