नेपालद्वारा ओडिआई सिरिजमा स्कटल्यान्ड स्तब्ध

Avatar photo
Dhadingpost
फाल्गुन ५, २०७९

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालसँग आज भएको खेलमा स्कटल्यान्ड स्तब्ध बनेको छ । नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको हो ।

मध्यक्रममा दुई ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेलेपछि नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको हो । स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याउँदै नेपालले जारी त्रिकोणात्मक श्रृंखलामा लगातार दोस्रो जित निकालेको हो ।

स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । खराब सुरुआत गरेको नेपालको जितमा दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले अर्धशतकीय इनिङ खेले । नेपालले मात्र ७७ रन जोड्दा ५ विकेट गुमाईसकेको थियो । तर, कुशल र दीपेन्द्रले नेपालको इनिङ उकासेका थिए । नेपालका ओपनर कुशल भुर्तेलले ४ चौका सहित ८ बलमा १६ रन बनाए । अर्का ओपनर आसिफ शेखले १४ बलमा ९ रन बनाए ।

ज्ञानेन्द्र मल्ल ३ बलमा ४ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेलले १० बलमा ६ रन बनाए । कप्तान रोहित आउट भए सँगै मैदान आएका कुशल मल्लले ६७ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ८१ रन बनाए । एकदिवसीय अन्तराष्ट्रियमा कुशलको यो नै सर्वाधिक धेरै रन हो ।

सन्दीप जोराले ५ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १ सय १६ बलमा अविजित ८५ रन बनाए । दीपेन्द्रको एकदिवसीय अन्तराष्ट्रियमा यो दोस्रो अर्धशतक हो । उनले एक शतक समेत प्रहार गरेका छन् ।

विश्वकप लिग टूमा भने दिपेन्द्रको पहिलो अर्धशतक हो । गुल्सन झाले १७ रन बनाउँदा सोमपाल कामीले ३२ बलमा अविजित २४ रन बनाए । छैटौं विकेटका लागि कुशलले दीपेन्द्रसँग मिलेर १ सय रनको साझेदारी गरेका थिए ।