मन्त्री दुलालद्वारा पदभार ग्रहण लग्गतै धादिङ केन्द्रित ३ निर्णय

Avatar photo
Dhadingpost
माघ १२, २०७९

धादिङ । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री एवम् माओवादी केन्द्रका युवा नेता युवराज दुलाल (शरद) ले पदभार ग्रहण लग्गतै, एकीकृत रुबिभ्याली विकास कार्यक्रमलाई अघि बढाउने निर्णय गरेका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुधबार पदभार ग्रहण गर्दै मन्त्री दुलालले मानव विकास सूचकांकमा प्रदेशकै सबैभन्दा पछाडि परेको रुबिभ्याली गाउँपालिकामा एकीकृत रुबिभ्याली विकास कार्यक्रमका विभिन्न पूर्वाधार निर्माणका कार्यक्रमलाई कार्यान्वयन प्रक्रियाको प्रारम्भ गर्ने निर्णय गरेका हुन् ।

  • एकीकृत रुबिभ्याली विकास कार्यक्रम
  • खरको छानो मुक्त कार्यक्रम
  • खनियाबास र रुबीभ्याली जोड्ने मोटरेबल पुल

मन्त्रालयको जिम्मेवारी लिएको पहिलो दिन मन्त्री दुलालले खरको छानो मुक्त कार्यक्रमको प्रक्रिया अघि बढाउने योजना सदर गरेका छन् । उनले बागमती प्रदेशमा आर्थिक विपन्नताका कारण खरको छाना मुनि बस्न बाध्य नागरिकको घरलाई खरको छाना मुक्त बनाउने प्रदेश सरकारको कार्यक्रमलाई कार्यान्वयन प्रक्रिया प्रारम्भ गर्न योजनाको फाइल सदर गरेका हुन् ।

त्यस्तै मन्त्री दुलालले बजेट अभावले दुई वर्षदेखि निर्माण कार्य रोकिएको खनियाबास र रुबीभ्याली जोड्ने लिङलिङ ग्यापको मोटरेबल पुलको लागि आवश्यक बजेट खनियाबास गाउँपालीकालाई दिने प्रतिबद्धतासहित निर्माण कार्य अगाडि बढाउन सहमति प्रदान गर्ने निर्णय गरेका छन् ।