प्रदेश सभामुखका लागि उम्मेदवार बनेका धादिङका अधिकारीले ३६ मत मात्रै ल्याए

Avatar photo
Dhadingpost
पुस २९, २०७९

धादिङ । नेपाली कांग्रेसबाट बागमती प्रदेश सांसद बनेका धादिङका शिवराज अधिकारीले बागमती प्रदेश सभामुख पदका लागि भएको निर्वाचनमा ३६ मत मात्रै ल्याएका छन् । बागमती प्रदेशमा कांग्रेको ३७ जना सांसद छन् ।

बागमती प्रदेशको सभामुख पदका लागि आज भएको निर्वाचमा कांग्रेसबाट धादिङका शिवराज अधिकारी सत्तागठबन्धनबाट राप्रपाका भुवन पाठक र नेमकिपाबाट सृजना सैजुले प्रतिस्पर्धा गरेका थिए । प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाका अनुसार, ११० जना सदस्य रहेको बागमती प्रदेशसभाको आजको बैठकमा १०९ जना सदस्य मात्रै उपस्थित रहेका थिए ।

पाठकले सभामुख पदका लागि गरेको प्रस्तावको पक्षमा ६२ मत, विपक्षमा ४९ मत र मत दिन्न भन्ने पक्षमा ७ मत परेको थियो । पाठकको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल रहेका थिए । ६२ मतका साथ पाठक सभामुखमा निर्वाचित भए ।

यस्तै, अधिकारीले सभामुख पदका लागि गरेको प्रस्तावको पक्षमा ३६ मत, विपक्षमा ६५ मत र मत दिन्न भन्ने पक्षमा ७ मत परेको थियो । उनको प्रस्तावकमा कुन्दन काफ्ले र समर्थनमा रामकृष्ण चित्रकार रहेका थिए ।

यस्तै, अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट सृजना सैजुले सभामुख पदका लागि गरेको प्रस्तावको पक्षमा ३ मत, विपक्षमा ६५ मत परेको थियो । उनको प्रस्तावकमा गीता काफ्ले र समर्थनमा सुरेन्द्रराज गोरसाईँ रहेका थिए ।

बागमती प्रदेको ११० सांसदमा कांग्रेसको ३७ जना , एमालेका २७, माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुईजना सांसद रहेका छन् ।