धादिङ महोत्सव चटक हेर्न कै लागि नहोस् -पहाडी

Avatar photo
Dhadingpost
पुस ५, २०७९

धादिङ । धादिङ महोत्सव यहि पुस ७ देखि १७ गते सम्म धादिङबेसीमा हुँदैछ । महोत्सवको आयोजना धादिङ उद्योग वाणिज्य सघले गर्ने यो आठौं जिल्ला महोत्सव हो ।

महोत्सवको आयोजना बारे बजारमा विभिन्न टिका टिप्पणी आईरहेको अवस्थामा डा. नविनबन्धु पहाडीले सुझाव स्वरुप आयोजकलाई महत्वपूर्ण टिप्स सार्वजनिक गरेका छन् ।

उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत आयोजकको ध्यानाकर्षण गराउँदै महोत्सव खाली टिकट काट्ने, चटकेहरुको चटक हेर्नकै लागि महोत्सव नहोस भनेका छन् ।

जस्ताको तस्तै

मेला र उत्सव
विभिन्न प्रकृतिका उत्सवहरुको महामेला भएपछि महोत्सव बन्न सक्छ । एकै रङ्ग, एकै कला र एकै प्रकारको आयोजनको अर्थ महोत्सव हुनै सक्दैन । त्यसैले महोत्सव भन्नु फरक फरक उत्सवहरूको योगफल हो जुन फरक प्रकृति, क्षेत्र र स्थलहरुमा हुन्छन् ।
प्रसङ्ग धादिङ महोत्सवको । महोत्सव हुँदैछ भन्ने चर्चाहरु छन् । तयारी भैरहेको होला सफलताको शुभकामना ।
आयोजकहरुले मनन गर्नुपर्ने विषय के हो भने हामीसँग भएका सनातन संस्कृतिहरुको उत्खनन्, प्रदर्शन, प्रवर्द्धन र विकासको पनि यो अब हो । सोह्रघरको घाटु, सल्यानटार, जुरेथुम क्षेत्रका सोरठी, दार्खाका घोडचढी, ज्यामरुङ्का चाँचरी, नेवारपानीको मालश्री, गोगनपानी, कुम्पुरका काँठे, ठाडोभाका सायद हराइसके । यिनीहरुको हरसम्भव प्रदर्शनी हुनुपर्ने हो । हाम्रो मौलिकता यसैमाआधारित छ ।
लाखेनाच, टाकटुके, चण्डी, दुर्गानाचहरु प्रदर्शनी गरिनुपर्ने थियो यसका बारेमा सायद तयारी के भैरहेको छ, आशा गरौ होला ।
अब उत्पादन र बजारिकरणको कुरातर्फ मोडिऔं
स्थानीय सामग्रीको बजारिकरणको लागि पनि महोत्सव माध्यम हो । जिल्लामा सञ्चालित मादल,सारङ्गी, गलैचा, राडीपाखी, नेपाली कागज, तामाङ पोशाक, घरेली कपडाहरु कृषि उपज, डोका डाला, नाम्ला बेतबाँसका अन्य सामग्रीहरुको सुलभ प्राप्यता र सर्वसाधारणाहरुको सहज पँहुच स्थापित हुने गरेर महोत्सव चल्नुपर्छ ।
महोत्सव अवधिमा धादिङ बेसी क्षेत्रभित्र काव्यविमर्श,कतै पर्यटन प्रवर्धनको सेमिनार,कतै कविगोष्ठी, कतै मौलिक सीप र क्षमताको प्रदर्शन, कतै विज्ञान मेला, कतै औंद्योगिक प्रदर्शनी, यस विषयका बहस, विमर्शहरु भहनु आवश्यक छ ।
खाली टिकट काट्ने, चटकेहरुको चटक हेर्न कै लागि महोत्सव नहोस है ।