
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार समूह चरणका ४ खेलहरु हुँदैछन् । विश्वकपमा शुक्रबार समूह ‘एच’ र समूह ‘जी’ को दुई दुई खेलहरु हुनेछन् ।
समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।यस समूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाईसकेको छ । अन्य तीन टोलीको पनि नकआउटअ पुग्ने सम्भावना उत्तिकै रहेको छ । पोर्चुगल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । घाना ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । दक्षिण कोरिया १ अंकसहित तेस्रो र १ अंक जोडेको उरुग्वे पुछारमा रहेको छ ।
यस्तै समूह ‘जी’ अन्तर्गत सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । यस समूहको दुबै खेल राति १२:४५ बजे सुरु हुनेछ । यस समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । ब्राजिल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । स्विट्जरल्यान्ड ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । क्यामरुन १ अंक जोडेर तेस्रो र सर्बिया १ अंक जोडेर पुछारमा रहेको छ । यस समूहबाट तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।
समूह ए बाट नेदरल्यान्ड्स ७ अंकसहित समूह विजेता बन्यो । सेनेगल ६ अंक जोड्दै समूह उपविजेताको रुपमा अघि बढेको हो । ४ अंक जोडेको इक्वेडर र अंकविहिन कतार समूह चरणबाट बाहिरीए ।
समूह बी मा इंग्ल्यान्ड ७ अंकसाथ शीर्षस्थानमा रहयो । अमेरिकाले ३ खेलमा ५ अंक जोड्दै उपविजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गर्यो । ३ अंक जोडेको इरान र १ अंक जोडेको वेल्सले समूह चरण पार गर्न सकेनन् ।
समूह सी मा अर्जेन्टिना समूह विजेता बन्यो । पहिलो खेल हारेपनि अर्जेन्टिनाले पछिल्लो दुई खेल जित्दै ६ अंक जोड्यो । पोल्यान्ड र मेक्सिको समान ४-४ अंक जोडेपनि गोलअन्तरमा पोल्यान्ड अघि बढ्यो । साउदी अरेबिया ३ अंकसहित पुछारमा रह्यो ।
समूह डी मा फ्रान्स शीर्ष स्थानमा रहयो । अन्तिम खेलमा ट्युनिसियासँग हारेको सावित विजेता फ्रान्सले ६ अंक जोड्यो । अष्ट्रेलियाले फ्रान्ससँग पहिलो खेल हारेपछि लगातार जित दर्ता गर्दै ६ अंकका साथ नकआउट चरणमा स्थान बनायो । ४ अंक जोडेको ट्युनिसिया र १ अंक जोडेको डेनमार्क समूह चरणबाट बाहिरीए ।
समूह ई मा जापान ६ अंकसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ । स्पेन ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । जर्मनी ४ अंक जोडेपनि गोल अन्तरमा स्पेनभन्दा पछि रहयो । स्पेनको गोल अन्तर +६ तथा जर्मनी +१ मा रहयो । कोस्टारिका ३ अंकका साथ चौथो हुँदै बाहिरियो ।
समूह एफ मा मोरक्कोले ७ अंक जोड्दै शीर्षस्थान हासिल गर्यो । क्रोएसिया ५ अंकका साथ दोस्रो भयो । विश्व वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियम ४ अंक जोड्दै समूह चरणबाट बिदा भयो । क्यानाडा अंकविहिन रहँदै बाहिरियो ।
