धादिङ अर्वाङमा इन्द्र चेपाङको गोली र बलत्कार काण्डले गाउँनै आतङ्कित

Avatar photo
Dhadingpost
मंसिर १४, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ८ अर्वाङमा मंसिर ४ गते चुनावको दिन १४ वर्षिय एक स्कुले बालिकालाई गोली हानियो । ममिता चेपाङको पिडुलामा गोली लाग्यो तत्काल अस्पताल पुर्‍याउन सकिएकोले उनि खतरामुक्त रहिन । गोली हानेका थिए विगत ४ वर्ष अघि जंगल छिरेका स्थानीय इन्द्रबहादुर चेपाङले ।

इन्द्रबहादुर चेपाङको अपराध यो पहिलो हैन । ३८ वर्षिय उनले ममिताको बुवा निर्वाचित वडा सदस्य समेत रहेका रामजी चेपाङलाई ०७६ असारमा गोली हानेका थिए । टाउकोमा गोली लागेका उनलाई चिन्ताजनक अवस्थामा काठमाडौँ मेडिसिटी अस्पतालमा पुर्‍याई मृत्युको मुखबाट जोगाईएको थियो ।

इन्द्रबहादुर चेपाङ सँग कुनै रिसिवि छैन, भरुवा बन्दुक बोक्छ, मलाई टाउको मै हान्यो बाँचें, अहिले छोरीलाई हान्यो भाग्यबस पिडुलामा लागेर बाँचिन् । कयौं दिदीबहिनीलाई बलत्कार गरेको रामजी चेपाङले धादिङपोष्टलाई बताए ।

०७६ असारमा गोली काण्ड मच्चाएपछि जंगल छिरेका इन्द्रबहादुर चेपाङ जंगलमा जानेहरुलाई आक्रमण गर्ने महिलाहरुलाई बलत्कार गर्ने कार्यमा संलग्न हुँदैआएको स्थानीयहरु बताउँछन् । उ घर आउँदैन जंगलमै बस्छ र आतंक मच्चाई रहेको ममिताको बुबा रामजी चेपाङ बताउँछन् । ०७६ सालदेखि नै प्रहरीको नोटिसमा रहेका इन्द्रबहादुर चेपाङ हाल सम्म पनि पक्राउ पर्न सकेका छैनन् ।

स्थानीयहरुले विगत ४ वर्ष देखि इन्द्रबहादुर चेपाङ जंगल मै बस्दै आएको दावी गरेपनि धादिङ र मकवानपुरको सिमानाको जंगल भएकोले निज इन्द्रबहादुर चितवनको भण्डारा र लोथर तिर बस्ने गरेको हुन सक्ने र बेला बखत जंगल छिर्ने र गाउँका चेलीबेटीलाई बलत्कार गर्ने, गोली हान्ने गरेको हुनसक्ने बताईन्छ ।