
काठमाडौं । युवा ओपनर आसिफ शेख र अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लको कीर्तिमानी शतकीय साझेदारीमा नेपालले युएईविरुद्ध सानदार जित दर्ता गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २-१ ले आफ्नो बनाएको हो ।
नेपालले अन्तिम तथा तेस्रो ओडिआई खेलमा युएईलाई ६ विकेटले हराउँदै सिरिज २–१ ले जितेको हो । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा आसिफ शेख १ सय १९ बलमा १२ चौकासहित ८८ रनमा अविजित रहे । आसिफले रोहन मुस्तफालाई विजयी चौका प्रहार गर्दै खेल सकाए । ज्ञानेन्द्र मल्ल ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रनमा आउट भए ।
नेपालले घरेलु मैदानमा पहिलो पटक द्विपक्षीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको हो । सिरिज अन्तर्गत पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो ।
यस्तै कप्तान रोहित पौडेलले आफ्नो कप्तानी डेब्युमै नेपाललाई एकदिवसीय अन्तराष्ट्रिय सिरिज जिताएका छन् । सन्दीप लामिछाने निलम्बन भएपछि क्यानले यसै सिरिज अघि रोहितलाई कप्तानी दिएको हो ।

