ओडीआईको दोस्रो खेलमा नेपालद्वारा युएई पराजित

Avatar photo
Dhadingpost
कार्तिक ३०, २०७९

काठमाडौं । युएईविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको हो ।

खराब ब्याटिङ सुरुवात गरेपनि युवा ब्याटर गुलशन झा र आरिफ शेखले सातौं विकेटका लागि उत्कृष्ट साझेदारी गरेपछि नेपालले दोस्रो ओडिआई युएईलाई तीन विकेटले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ ।

युएईले दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर १ सय ९३ रन बनाएर पूरा गर्यो । नेपालको जितमा गुलशन झाले सर्वाधिक ३७ रनको योगदान दिए । यस्तै आरिफ शेखले अविजित ३३ रनको योगदान दिदा सोमपाल कामी १६ रनमा अविजित रहे । कुशल भुर्तेल ३५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले २६ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १३ रन जोड्दा कप्तान रोहित पौडेलले ८ रन जोडे ।

आशिफ शेखले ६ रन जोडे भने अर्जुन साउदले सुन्य रन बनाए । युएईका रोहन मुस्तफाले ३ तथा हजरत बिलालले २ विकेट लिए । बसिल हामिदले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ९१ रन बनाएको थियो । युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै अलिशन शराफुले ३५ रन जोड्दा भ्रित्य अरबिन्दले २५ रन जोडे । बसिल हामिदले २४, कप्तान सीपी रिजवानले २२ तथा बिष्णु शुकुमारनले १५ रन बनाए ।

युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र ललित राजवंशीले ३/३ विकेट लिए । करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १/१ विकेट लिए । नेपाल पहिलो खेलमा ८४ रनले पराजित भएको थियो । तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ ।