ओडिआईः युएई सँग नेपाल आज दोस्रो खेल खेल्दै

Avatar photo
Dhadingpost
कार्तिक ३०, २०७९

काठमाडौं । पहिलो खेलमा युएईसँग ८४ रनले पराजित भएको नेपाल ले आज युएई सँग दोस्रो खेल खेल्दै छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

नेपाललाई सिरिज बचाउन आजको खेल जित्नै पर्ने हुन्छ । अन्यथा एक खेल अगावै नेपालले सिरिज गुमाउनेछ । पहिलो खेलमा नेपालले २ सय ६४ रनको विजयी लक्ष्य पछ्याउनेक्रमा १ सय ७९ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५४ र अर्जुन साउदले ५१ रन बनाएका थिए । अन्य ब्याटरको प्रदर्शन राम्रो थिएन ।

नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित टोली नै हुन् । नेपाल र यूएईबीचमा एकदिवसीय अन्तराष्ट्रियमा अहिले सम्म ७ पटक खेल भएको छ । नेपाल मात्र २ पटक विजयी हुँदा ५ पटक यूएईले खेल आफ्नो पक्षमा पारेको छ।

नेपालले २०१९ मा यूएईविरुद्ध नै पहिलो एकदिवसीय सिरिज जितेको थियो । तीन खेलको उक्त सिरिज नेपालले २-१ ले जितेको थियो । सोहि सिरिजको तेस्रो खेलमा नेपालका तत्कालिन कप्तान पारस खड्काले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका थिए ।