धादिङ १ का बागी प्रकाश घलेद्वारा उम्मेदवारी निष्क्रिय भएको घोषणा

Avatar photo
Dhadingpost
कार्तिक १, २०७९

धादिङ । धादिङ प्रतिनीधि सभा सदस्य क्षेत्र नं. १ को लागि सत्ता गठबन्धनका घटक नेपाली कांग्रेसका प्रकाश घले स्वतन्त्र उम्मेदवारी दिएका थिए । सत्ता गठबन्धनका साझा उम्मेदवार स्वरुप राजेन्द्र पाण्डे चुनावी मैदानमा रहँदै गर्दा घलेले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गाएका थिए ।

सोमबार घलेले वित्रप्ती जारी गर्दै राजनीतिक स्थिरता स्थापित गर्नका लागि र नेकपा९एमाले०को नेतृत्व गरेको गठबन्धनका कारणबाट विगतमा जस्तै मुलुक, लोकतन्त्र र संविधान संकटमा पारिने संभावनालाई गम्भीरतापूर्वक विश्लेषण गरी नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई देशभरबाट विजयी गराउनुपर्ने आवश्यकता रहेको महसुस गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको बताएका छन् ।

उनको विज्ञप्ती जस्ताको तस्तै
मिति : २०७९।०६।३१
प्रेस वक्तव्य
आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा म दिलबहादुर घले(प्रकाश)ले धादिङ जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएको थिएँ । म नेपाली कांग्रेसको इमानदार कार्यकर्ता हुँ । विगतदेखि नै पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै आएको छु ।
स्थानीय तहको निर्वाचन २०७४ मा सिद्धलेक गाउँपालिका, वडा नं. ५ मा पार्टीले वडा अध्यक्षको उम्मेदवार बनाएर जननिर्वाचित भई इमान्दारितापूर्वक ५ वर्ष अनवरत जनताको सेवामा लागें । स्थानीय तहको निर्वाचन २०७९ मा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन दलहरूको सहमतिबाट उक्त वडामा नेकपा(माओवादी केन्द्र)बाट उक्त पार्टीको साथीलाई वडा अध्यक्ष पदमा उम्मेदवार बनाइ विजयी गराएको थियो । कार्यपालिका सदस्यको निर्वाचनमा माओवादी केन्द्र र नेकपा(समाजवादी)बाट गठबन्धन टुटाइएपछि व्यापक रूपमा कांग्रेसका नेताकार्यकर्ताहरूमा असन्तुष्टि सिर्जना भएको थियो । उक्त असन्तुष्टि र गठबन्धनका कारणबाट यस क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै तहमा प्रत्यक्षतर्फ कांग्रेसको चुनाव चिन्हमा मतदान गर्न नपाउने भएपछि आम नेताकार्यकर्ताको भावनाको प्रतिनिधित्व गर्दै मैले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको थिएँ ।
हाल नेताकार्यकर्ता अग्रज तथा साथीहरूसँगकै परामर्शमा देशमा लोकतन्त्र र संविधानको रक्षा गर्दै राजनीतिक स्थिरता स्थापित गर्नका लागि र नेकपा(एमाले)को नेतृत्व गरेको गठबन्धनका कारणबाट विगतमा जस्तै मुलुक, लोकतन्त्र र संविधान संकटमा पारिने संभावनालाई गम्भीरतापूर्वक विश्लेषण गरी नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई देशभरबाट विजयी गराउनुपर्ने आवश्यकता रहेको निष्कर्षमा पुगेको छु । तसर्थ पार्टीका अग्रज नेता तथा साथीहरू र शुभचिन्तकहरूको आग्रहलाई सम्मान गर्दै नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धताका साथ आजकै मितिबाट मेरो उम्मेदवारी निष्क्रिय बनाएको यो वक्तव्यमार्फत सार्वजनिक जानकारी गराउँदछु ।
जय नेपाल !
दिलबहादुर घले(प्रकाश)
क्षेत्रीय प्रतिनिधि
नेपाली कांग्रेस, सिद्धलेक गाउँपालिका, वडा नं. ५, धादिङ