धादिङ १ मा उत्तम कडेलले पाए माछा चुनाव चिन्ह

Avatar photo
Dhadingpost
अशोज २७, २०७९

धादिङ । उत्तम कडेल धादिङको राजनीतिक वृतमा चलेको नाम हो र जनतामा परिचित नाम पनि हो । उनै उत्तम कडेलले स्वतन्त्रबाट आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभाको चुनावमा धादिङ १ बाट सत्ता गठबन्धनका उम्मेदवार राजेन्द्र पाण्डे सँग प्रतिपर्धा गर्ने भएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका उत्तम कडेललाई बुधबार निर्वाचन कार्यालयले चुनाव चिन्ह माछा दिएको छ । २०३३ साल देखि कम्युनिष्ट पार्टीमा संगठित उनी विगत १० वर्ष देखि भने नेपालमा कम्युनिष्ट पार्टीहरुले देश, जनता र क्रान्तीलाई धोखा दिएको भन्दै राजनीतिक वृत बाहिर रहेर प्रकृति मानब केन्द्रित जन अभियान नेपालमा आवद्ध छन् ।

उनले चुनाव चिन्ह माछा पाईसकेपछि आफ्नो सामाजिक संजालबाट
यसरी भोट मागेका छन् ।
आदरणिय मतदाताज्युहरु, नमस्कार ।
वि सं २०३३ साल देखी कम्युनिष्ट पार्टीमा संगठित वनेर समाज परिवर्तनको लागी मैले निकै पसिना वगाए ।तर स्वनामधारी कम्युनिष्ट पार्टीहरुले देश,जनता र क्रान्तीलाई धोखा दिए पछि म प्रत्यक्ष रुपमा विगत १० वर्ष देखी र अप्रत्यक्ष रुपमा विगत २५ वर्ष देखी पार्टी छाडेर प्रकृती पर्यावरणको क्षेत्रमा राष्ट्रव्यापी अभियान संचालन गर्दै आईरहेको छु । यस विचको अनुभवले मलाई शहर वजार र नदीको सफाई गर्न सवभन्दा पहिले दल, सत्ता र नेतृत्वमा रहेको जनविरोधी विचारलाई निर्ममतापुर्वक सफाई गर्नु पर्छ भन्ने लागेर यस पटक म प्रतिनीधीसभाको निर्वाचनमा स्वतन्त्र रुपमा आदरणिय मतदाताहरु समक्ष हाजिर भएको छु ।आगामी मंसीर ४ गते हुन गैरहेको निर्वाचनमा परिवर्तन र सुधारको लागी माछा चिन्हमा छाप लगाई मलाई अत्याधिक वहुमतले विजयी गराउनु हुनेछ भन्ने आशा एवं विश्वास लिएको छु ।