
धादिङ । बडादशैंको सातौ दिन अन्तर्गत आज फुलपाती, हिन्दु नेपालीहरुले घरघरमा फूलपाती भित्र्याउँदैछन् । विगतको वर्षहरुमा जस्तै यो वर्ष पनि धादिङबेसीमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले फुलपातीको डोली लिएर नीलकण्ठ १२ मा रहेको देवीको मन्दिरमा फुलपाती भित्राइए पुजाआजा गर्ने, सुनौलाबजार स्थित भैरवी मन्दिरबाट फुलपाती जिल्ला प्रशासन कार्यलयमा ल्याईने तयारी गरिएको छ ।
देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा महासप्तमी मनाउने गरिन्छ । आज दुर्गा भवानीको प्रतिमा राखिएको दशैघरमा फूलपातीको शुभसाइतका रुपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्रयाइन्छ । फूलपाती गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाण्डूको जमलसम्म ल्याउने गरिन्छ ।
गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङगारिएका कल्स्यौडीहरु र सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा ल्याइएको फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्रयाउने चलन छ । आजै काठमाडौंका नेवार समुदायका घरघरमा विश्वकर्मा तथा विद्याकी देवी महासरस्वतीको पूजा हुन्छ । त्यस क्रममा पुस्तक, कापी, कलम, ज्यावल, मेसिनरी सामग्रीहरु, कोदाला, हँसियालगायत स्थापना गरी पूजा गरिन्छ ।
घटस्थापनाका दिनदेखि नै दशै सुरु हुने भए पनि दशैको विशेष चहलपहल भने आजैदेखि घरघरमा सुरु हुन्छ । फूलपातीदेखि सरकारी कार्यालय पनि बन्द हुने भएकाले मूलघर भन्दा पर रहेकाहरु घर फर्कने भएकाले पनि आजको दिनबाट दशैको विशेष रमाइलो सुरु हुन्छ ।






































