
धादिङ । यहि असोज २८ गते देखि जिल्ला क्रिकेट संघ धादिङले आयोजना गर्ने धादिङ जिल्ला स्तरीय अन्तर पालिका क्रिकेट प्रतियोगिताको लागि नीलकण्ठ नगरपालिकाले खेलाडी छनोट खेल सम्पन्न गरेको छ । जिल्ला क्रिकेट संघ धादिङका सदस्य अनिश अधिकारीका अनुसार ३० भन्दा बढी खेलाडी छनोटमा सहभागि भएका छन् । यी मध्यबाट १४ जनाको टिम बनाई नीलकण्ठले प्रतियोगितामा पठाउने छ ।
नीलकण्ठ नगरपालिका १० का वडा अध्यक्ष एवम् खेलाड सरोज पाण्डे र जिल्ला क्रिकेट संघ धादिङका अध्यक्ष दिपेश कडेल समेतको नीलकण्ठ नगरपालिकाको खेलाडी छनोट कार्यक्रममा उपस्थिति रहेको थियो । छनोट खेलपछि आफ्नो धारणा राख्दै अध्यक्ष कडेलले अहिले सम्म धुनीबेसी, गल्छी, गजुरी, बेनीघाट रोराङ, सिद्धलेक, नीलकण्ठ, त्रिपुरासुन्दरी र खनियाबास गाउँपालिकाले सहभागि जनाउने प्रतिवद्धता आएको बताए ।
अन्य गाउँपालिकामा पनि टिम पठाईदिन आग्रह गरेका छौं । ज्वालामुखी गाउँपालिकामा खेलाडी भएरपनि गाउँपालिकाले आर्थिक व्यवस्थापन गर्न नसक्ने जनाएपछि त्यहाँका खेलाडीहरु मर्कामा परेका छन् । हामी गाउँपालिकाबाट खेल्न तयार छौं तर गाउँपालिकाले कुनै सहयोग गर्न नसक्ने प्रतिक्रिया दिएको खेलाडीहरु बताउँछन् ।





































