रुवी भ्याली, प्रदेश गौरवको योजनामा समावेश

Avatar photo
Dhadingpost
अशोज ७, २०७९

धादिङ । बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले मानव स्रोत साधनको हिसाबले कमजोर मानिएको धादिङ जिल्लाको रुवी भ्यालीलाई प्रदेश गौरवको योजनामा समावेश गरी एकीकृत विकास परियोजना अन्तरगत काम अघि बढाउने निर्णय गरेको छ ।

बागमती प्रदेशको डोरमणि नेतृत्वको सरकारको पालामा समेत रुवी भ्याली गाउँपालिकाको एकीकृत विकासको काम अगाडी बढाउने निर्णय भएको थियो तर ५० लाख बराबरको डीपीआर भएर काम अगाडी बढ्न सकेको थिएन ।

विभिन्न सूचाङ्कका आधारमा रुवी भ्याली गाउँपालिका कम विकसित देखिएकोले प्रदेश सरकारले रुवीभ्यालीको एकीकृत विकास परियोजना लागि १० करोड विनियोजन गरेको पालिका अध्यक्ष रामसिंह तामाङले धादिङपोष्टलाई बताए । यहि परियोजनालाई प्रभावकारी बनाउन बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले रुवी भ्यालीलाई प्रदेश गौरवको योजनामा समावेश गर्ने निर्णय भएकोमा अध्यक्ष तामाङले खुसी व्यक्त गरे ।

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको मातहतमा रहने गरी स्थापना गर्न लागिएको विज्ञान प्रविधि विश्वविद्यालयका लागि जग्गा छनौट गर्न कार्यदल गठन गर्ने, ५० लाख रुपैयाँसम्मको काम उपभोक्ता समितिमार्फत् गराउने, दोलखाको जिरीमा मानव निर्मित ताल निर्माण गर्ने योजनालाई प्रदेश गौरवको योजनाका रुपमा समावेश गर्ने लगायतका निर्णय गरेको छ ।