डेंगु नियन्त्रणमा छुट्टै टोली परिचालन गर्ने सरकारको तयारी

Avatar photo
Dhadingpost
भदौ २२, २०७९

काठमाडौं । डेंगु संक्रमण रोकथामका लागि स्वास्थ्य मन्त्रालयले छुट्टै टिम परिचालन गर्ने भएको छ । मन्त्रालयले ३५ जना डाक्टरलाई तालिम दिएर डेंगु नियन्त्रणमा खटाउन लागेको हो ।

हाल संक्रमण धेरै भएका जिल्लामा डेंगु नियन्त्रणका लागि खटाउनुअघि डाक्टरहरूलाई तालिम दिइनेछ । मन्त्रालयले बढी प्रभावित जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर, निजी र सरकारी अस्पतालका डाक्टरलाई समेटेर दुईदिने तालिम दिनेछ ।

तालिम बुधबार र बिहीबार स्वास्थ्य मन्त्रालयमा हुनेछ । तालिमपछि एकजना सरुवारोग विशेषज्ञ डाक्टरको कमान्डमा डेंगु नियन्त्रणमा अन्य स्वास्थ्यकर्मी, सम्बन्धित वडाका प्रतिनिधि र स्वयंसेवकहरू खटिनेछन् ।
घरघरमै चेतना दिन सके मात्रै यसको नियन्त्रणमा सम्भव हुने मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले बताए । उनका अनुसार डेंगु संक्रमण तीव्र भएपछि रोकथामका रणनीतिसहित नियन्त्रणमा लागिएको हो । मन्त्रालयमा मंगलबार बसेको स्वास्थ्यमन्त्रीस्तरीय बैठकले जिल्लास्थित स्वास्थ्य कार्यालयसँगको समन्वयमा सम्बन्धित वडा कार्यालयले डेंगु रोकथामका कार्यक्रम अघि सार्ने निर्णय गरेको प्रवक्ता ठाकुरको भनाइ छ ।

उनका अनुसार गम्भीर बिरामीलाई मात्रै अस्पताल भर्ना गर्ने, सामान्य बिरामीलाई डाक्टरको सल्लाहअनुसार घरमै राख्ने, पर्याप्त डेंगु परीक्षण गर्ने, घरघर र वडावडामा जनचेतनामूलक कार्यक्रम गर्ने, स्वास्थ्य संरचनाको यकिन गर्ने, सामान्य रोगका बिरामीलाई अस्पताल भर्ना नगर्ने, सकेसम्म आइसियू र अन्य बेड खाली राख्ने, प्रत्येक जिल्लामा किटको अभाव हुन नदिनेजस्ता निर्णय बैठकले गरेको छ । ‘अहिले तुरुन्तै दश जिल्लालाई प्राथमिकतामा राखेर काम गर्छौँ, त्यसपछि जहाँ–जहाँ फैलिन्छ, ती जिल्लामा हाम्रो ध्यान जान्छ,’ उनले भने, ‘तर, अब जाडो सुरु हुँदै छ, एक महिनासम्म हामीले ध्यान दियौँ भने डेंगु संक्रमण घट्छ ।’ नयाँ पत्रिकाबाट