नेपाल र केन्याको पहिलो एकदिवसीय अभ्यास खेल आज हुँदै

Avatar photo
Dhadingpost
भदौ १७, २०७९

एजेन्सी । केन्या भ्रमणमा रहेको नेपालले आज शुक्रबार घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ ।
नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ ।

सिरिज तीन खेलको एकदिवसिय अभ्यास खेल हुनेछ । तीन एकदिवसिय अभ्यास खेलमा नेपालको कप्तानी युवा ब्याटर रोहित पौडेलले गर्नेछन् । नियमित टोलीका कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा उपकप्तान रहेका पौडेलले नेपालको कप्तानी गर्ने भएका हुन् । सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगिसकेका छन् ।

नेपालको ओपनिङ आसिफ शेख र देव खनालले गर्ने सम्भावना छ । तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्ल, चौथोमा दीपेन्द्रसिंह ऐरी र पाँचौंमा रोहित पौडेल हुनेछन् । ओपनरको सुरुवात निकै महत्वपूर्ण हुनेछ । नेपालले आदिल अन्सारी र अर्जुन साउदलाई पनि मौका दिनेछ ।

यो अभ्यास खेल हुँदा प्लइङ-११ को खेलाडीलाई नै खेलाउनु पर्छ भन्ने हुँदैन । नेपालले ब्याटिङ र बलिङ दुबै आफूलाई आवश्यक भएमा प्लेइङ-११ बाहिरको खेलाडीलाई पनि गराउन सक्छ । तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र किशोर महतो हुनेछन् । स्पिनरमा साहब आलम र बसिर अहमद छन् । विवेक, आदिल र आरिफ अलराउन्डर हुन् ।

यता केन्या पाँच टि२० आई सिरिजमा दुई खेल जितेको थियो । केन्या एकदिवसिय खेलमा सानदार प्रदर्शन गर्ने सोचमा छ । केन्याको ओपनिङ इफरान करिम र एलेक्स ओबान्डाले गर्नेछन् । इफरान केन्याका प्रमुख ब्याटर हुन् ।

कोलिन्स ओबुया, रकिप पटेल र गुरदीप सिंह मध्यक्रमका ब्याटर हुन् । रकिप नेपाललाई घातक बन्नसक्ने खेलाडी हुन् । बलिङतर्फ स्पिनर विरज पटेल नेपाली ब्याटरलाई निराश बनाउन सक्छन् ।