राष्ट्रियसभाको बैठकमा डेङ्गु रोकथाममा ध्यान दिन माग

Avatar photo
Dhadingpost
भदौ १६, २०७९

काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेङ्गु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथामका लागि सरकारसँग माग गरेका छन्।

बैठकको शून्य समयमा सांसद सुरेश आले मगरले काठमाडौं उपत्यकामा समेत दैनिक डेङ्गु सङ्क्रमण बढ्दो देखिएकाले तत्काल रोकथामको कार्य अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरे।

डेङगुबाट सबैभन्दा बढी बागमती प्रदेश प्रभावित बनेको छ । बागमती प्रदेशमा पछिल्ला ८ महिनामा २ हजार १ सय ८ जनामा डेङगु पुष्टि भएको छ । लुम्बिनी प्रदेशमा ६ सय ७२, प्रदेश नं. १ मा १ सय ९८, गण्डकी प्रदेशमा ८४ जनमा डेङगु संक्रमण देखिएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा ७७, मधेश प्रदेशमा ५९ र कर्णाली प्रदेशमा २९ जनामा डेङगु संक्रमण भएको छ । डेङगुबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाको ललितपुर प्रभावित भएको छ । ललितपुर जिल्लामा सन् २०२२ मा ११८० जनामा डेङगु पुष्टि भइसकेको छ । ललितपुरपछि काठमाडौं, रुपन्देही, भक्तपुर, तेह्रथुम, धादिङ, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँची जिल्ला डेङ्गुबाट सबैभन्दा प्रभावित भएका १० जिल्ला हुन् ।