
धादिङ । धादिङमा एकै दिन ११ जनालाई डेंगु संक्रमण पुष्टि भएको छ । मंगलबार एकै दिन जिल्ला अस्पतालमा आएका विरामीहरुको परिक्षण गर्दा ११ जनामा डेंगु पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी विक्रम वि.क.ले धादिङपोष्टलाई बताए ।
साउन महिना र भदौ १४ गतेको अवधिमा धादिङ अस्पतालमा मात्रै ११४ जनामा डेंगु संक्रमण पुष्टि भएको उनले बताए । डेंगु संक्रमित एक जनाको जिल्ला अस्पताल मै मृत्यू समेत भैसकेको छ । ज्वालामुखी गाउँपालिका २ का ५६ वर्षिय रामचन्द्र श्रेष्ठको डेंगु संक्रमण पछि मृत्यु भएको थियो ।
पछिल्लो समय जिल्ला अस्पतालमा भाईरल ज्वरोको बिरामीको चाप छ भने, डेंगुका विरामीहरुको संख्या समेत बढेर गएको उनले बताए । भाइरल ज्वरोलाई सामान्य भाषामा इन्फ्लुएन्जा वा फ्लुलाई भाइरल ज्वरो भनिन्छ । कडा घाम र पानी पर्ने मौसममा यसले प्रकोपको रूप लिने गरेकाले यसलाई मौसमी इन्फ्लुएन्जा पनि भन्ने गरिन्छ । अहिले अस्पतालमा यस्ता विरामीहरुको संख्या धेरै भएको सूचना अधिकारी विक बताउँछन् ।
के हो डेंगु ?
लामखुट्टेको टोकाईबाट अति नै शीघ्र फैलने भाइरसको संक्रमणबाट हुने रोग मध्येको रोग हो डेंगू । यो Flavivirus अन्तर्गत पर्ने Dengue virus नामको जिवाणुले गर्दा लाग्दछ । यो भाइरसको ४ ओटा सेरोटाइप्स (DEN-1,2,3,4) जस अन्तर्गत थुप्रै जेनोटाइप्स छन । विश्वभर नै यस रोगको फैलावट भए पनि एशिया खास गरी भारत र नेपालमा पछिल्लो समयमा यो रोग इन्डेमिक भएको छ ।
कसरी सर्छ डेंगु
एडिज इजीप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिन देखि जमेर बसेको भए यस्त ठाउँहरुमा यो लामखुट्टेले अण्डा पार्छ । उक्त प्रजातिका लामखुट्टेले मुख्यत सफा जमेको पानीमा अण्डा पार्छ र साँझपख मानिसहरुलाइ टोक्ने गर्दछ । यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ, जुन अरु प्रजातिका लामखुट्टेमा पाइदैन ।
लक्षणहरु
शुरुमा विरामीहरुमा टाउको दुख्ने, रिंगाटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, जोर्नीहरु दुख्ने, बान्ता हुने , सामान्य ज्वरो आउने र आलस्यता हुने जसता लक्षणहरु देखिन्छ । साथै नाकबाट रगत आउने, दिशामा रगत आउने तथा कालो दिशा हुने, रगतमा पानीको मात्रा कम हुने, प्लेटेलेट्सको सङ्ख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ । अधिंकास रोगीहरु सामान्य उपचारपछि निको हुन्छ । यस रोगको तिनओटा चरणहरु देखिन्छ । क्लासिक डेंगु ज्वरो, डेंगु हेमोरेजिक ज्वरो र डेंगु शक सिन्ड्रोम् । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो, यो आफैं निको हुन्छ तर डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको सही र समयमै उपचार नगरे विरामीको मृत्यु समेत हुन सक्छ ।
कसरी गरिन्छ परीक्षण ?
यसको परिक्षण गर्न बिरामीको रगत तथा सेरमको नमुना लिने गरिन्छ । विभिन्न कोषहरुमा कल्चर गरेर कीट तथा सेरोलोजिकल टेस्टहरु जस्तै MACELISA, HAI, IGG ELISA आदि गरेर प्रयोगशालामा सजिलै रोगको पहीचान गर्न सकिन्छ ।यस रोगका लक्षणहरु देखिनासाथ तुरुन्तै अस्पताल गएर परिक्षण गर्नुपर्दछ। नेपालका सबै सरकारी अस्पतालमा यसको परिक्षण निशुल्क गरिन्छ ।
निदानका उपायहरु
यस रोगको ऐले सम्म कुनै खास औषधि तथा सुइ खोप उपलब्ध छैन । आराम गर्ने, प्रशश्त पानि पिउने तथा ज्वरो को औषधि सेवन गर्ने, रगत बगेको अवश्थामा प्राथमीक उपचार गरेरर जति सक्दो चाँडो अस्पताल पुग्ने गर्नु पर्दछ ।
रोकथामका उपायहरु
रोग लगेर उपचार गराउनु भन्दा रोग लग्न नदिनुनै बुद्धिमानी भने झै ,रोग लाग्नवाट वच्ने उपायहरु समयमै अपनाउनु पर्दछ । मुख्यतया: यसवाट वच्न लामखुट्टेको टोकाइवाट वच्नुपर्छ । तसर्थ आफ्नो घर सफाई गर्नु र घरमा पानि जम्ने खाल्टाखुल्टीहरु पुर्नुपर्छ । साथै लामखुट्टेको टोकाईबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्नु झ्याल ढोकामा जाली राख्नु आवश्यक छ ।
