
धादिङ । धादिङको धुनीबेशी नगरपालिका–८ कि २३ वर्षीया अनिशा देउला, गल्छी गाउँपालिका–६ कि २१ वर्षीया सिर्जना गर्तौला लागुऔषधसहित पक्राउ परेका छन् ।
भाद्र १३ गते एक महिलाको मोबाइल चोरी भएको घटनाको अनुसन्धानका क्रममा काठमाडौंको ठमेलबाट भारतको बिहार सीतामढी बेरगिनियाका १९ वर्षीय रक्की भनिने धिरज कुमार सहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुबाट २७ सय एम्पुल लागुऔषध बरामद गरेको छ। ठमेल नयाँबजारस्थित अनिशा देउलाको कोठामा मोबाइलको अनुसन्धान गर्ने क्रममा उक्त लागुऔषध बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।
