नेपाललाई शृंखला जित्ने अवसर

Avatar photo
Dhadingpost
भदौ १३, २०७९

काठमाडौं । के नेपाली क्रिकेट ब्याटिङको समस्याबाट गुज्रिरहेको छ ? नेपालले तेस्रो ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रियमा केन्यालाई आइतबार नैरोबीमा चार विकेटले पराजित गर्दा कम्तीमा त्यस्तो नलाग्न सक्छ । नेपालले प्रभावशाली ढंगले १ सय ५७ रनको लक्ष्य पछ्याएको थियो, १९.३ ओभरभित्र । तर, नेपाली इनिङ्स आफैंमा त्रुटिहीन भने रहेन र ब्याट्सम्यानले केही अनावश्यक शट पनि खेले । नेपाली क्रिकेटले ब्याटबाट राहत महसुस गर्ने हो भने यो भन्दा राम्रो प्रदर्शनको अपेक्षा भने रहनेछ ।

यो जितसँगै नेपालले पाँच खेलको शृंखलामा २–१ को अग्रता लिएको छ । नेपाल पहिलो खेलमा पाँच विकेटले विजयी रहेको थियो भने दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । अब चौथो खेल सोमबार हुनेछ र यसमा जित हात पार्न सके नेपालले अन्तिम खेल अगाडि नै शृंखला आफ्नो नाममा राख्न सक्छ, त्यसैले ठूलो अवसर बनेको छ ।

तेस्रो खेल सकिँदा नेपालले ६ विकेटमा १ सय ६० रन बनाएको थियो । त्यस अर्थमा नेपालका लागि कीर्तिमानी प्रदर्शन पनि रह्यो । नेपालले जितका लागि ट्वान्टी–ट्वान्टी क्रिकेटमा पछ्याएको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो स्कोर हो । यस अगाडि नेपालले सन् २०१९ मा सिंगापुरविरुद्ध जित निकाल्ने क्रममा १ सय ५२ रनको लक्ष्य सफलतापूर्वक पछ्याएको थियो ।

तेस्रो खेलमा प्राप्त जितलाई भने कप्तान सन्दीप लामिछानेले धेरै अर्थमा कठिन रहेकै माने । उनले दुवै टिमले ब्याटबाट राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिँदै जितमा भने आफू खुसी रहेको स्विकारे । उनले भने, ‘केन्याली इनिङ्सको अन्त्यतिर हामी केही महँगो सावित भयौं, तर हाम्रा सुरुआती बलरले राम्रो नै गरे । अर्जुन साउद र ज्ञानेन्द्र मल्लबीचको साझेदारी निर्णायक बन्यो । ब्याटबाट केन्याको प्रदर्शन पनि राम्रो रह्यो । त्यसैले आजको खेल हेर्नमा निकै रमाइलो सावित भएको छ ।’

सन्दीपले विशेषतः अर्जुनको प्रशंसा गरे र उनको प्रदर्शन डेब्यु गरिरहेका खेलाडीको जस्तो नभएको प्रतिक्रिया पनि दिए । अनि उनले जिमखानामा उत्रेका केही सयको संख्याका नेपाली समर्थकलाई धन्यवाद दिन पनि बिर्सेनन् ।

ज्ञानेन्द्रको सुदृढ प्रदर्शन
नेपाली टिममा पुनरागमन गरिरहेका ज्ञानेन्द्र मल्लले नेपालको इनिङ्समा निर्णायक योगदान दिए र उनी नै भए, ‘प्लेयर अफ म्याच’ पनि । उनले ४१ बलमा ४६ रन बनाए । उनको ब्याट्बाट चार चौका र एक छक्का निस्केको थियो ।

उनले प्रारम्भिक ब्याट्सम्यान अर्जुनसँग ४२ रनको प्रभावशाली साझेदारी गरे । नेपालका लागि आफ्नो पहिलो खेल खेलिरहेका अर्जुनले ३१ बलमा ३५ रन बनाए । उनले दुई चौका र तीन छक्का प्रहार गरे । आक्रामक देखिने क्रममा उनी विराज पटेलको बलमा बोल्ड भए ।

अर्का प्रारम्भिक ब्याटर पवन सर्राफले २० रन जोडे । यस्तै, रोहित पौडेलले २९ र आदिल अन्सारीले १६ रनको बहुमूल्य योगदान दिए । ज्ञानेन्द्र नेपाललाई जितसम्म डोर्‍याउन भने असफल रहे । उनी कोलिन्स आबुयाको बलमा इरफान करिमबाट स्टम्पिङ भए । खेलपछि उनले पनि अर्जुनको प्रशंसा गरे, ‘टिमका लागि म अन्त्यसम्म क्रिजमा रहन सकिनँ, अबको टिममा यसका लागि पनि प्रयास गर्ने छु ।’

तेस्रो विकेटका लागि शतकीय साझेदारी
त्यस अगाडि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको केन्याले २० ओभरमा दुई विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । केन्याली इनिङ्स पूर्णतः रकिप पटेल र इरफान करिमको नटआउट साझेदारीमा टिकेको थियो । उनीहरूले दुई विकेट गुमाएर २९ रनको स्थितिबाट टिमलाई मजबुत स्कोर खडा गर्न मद्दत गरेका थिए । उनीहरूले तेस्रो विकेटका लागि १ सय २७ रनको ठोस साझेदारी गरे र दुवैले आ–आफ्नो अर्धशतक पनि पूरा गरे ।

इरफानले ४७ बलमा ५५ रन बनाए । उनले चार चौका र दुई छक्का प्रहार गरे । उनको तुलनामा रकिप बढी आक्रामक रहे । उनले सुदृढ ७३ रन बनाए र यसका लागि ४३ बलको मात्र उपयोग गरे । उनले पाँच चौका र चार छक्का प्रहार गरे । उनको ब्याटिङ अगाडि नेपाली बलर खर्चिला सावित भए । रकिप र इरफानले १४ ओभरमा आक्रामक साझेदारीको नमुना पेस गरेका हुन् । नेपाली बलरमध्ये सोमपाली कामी र अदिल अन्सारीले एक–एक विकेट लिए ।

सोमपालले पाँचौं ओभरको दोस्रो बलमा सुखदीप सिंहलाई आठ रनमा आउट गरे । सन्दीपले उनको क्याच लिए । लगत्तै छैटौं ओभरमा आदिलले कोलिन्स ओबुयालाई १४ रनमा बोल्ड गरे । नेपाली बलरमध्ये कप्तान सन्दीप सबैभन्दा महँगो सावित भए र उनले चार ओभरमा ४२ रन दिए । खेलको अन्त्यमा सेम एमगोचेले पिच केही सुस्त रहेको बताए । उनले थपे, ‘तर हाम्रा लागि इरफान र रकिपले सानदार प्रदर्शन गरे ।’ कान्तिपुरबाट