नेपाल आज केन्याविरुद्ध दोस्रो खेल खेल्दै

Avatar photo
Dhadingpost
भदौ १०, २०७९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार घरेलु टोली केन्यासँग दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले २४ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३३ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ३० बलमा ३ चौकासहित २३ रनमा आउट भए । ओपनर पवन सरार्फ १, आसिफ शेख १९ र रोहित पौडेल १३ रनमा आउट भए । आसिफले २७ बलमा ३ चौका प्रहार गरे । आरिफ शेख १५ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा अविजित रहे । आदिल अन्सारी २ रनमा अविजित रहे । केन्याका विराज पटेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । लुकास ओलुओले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि नैरोबी स्थित जिमखान क्लब ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । केन्याका विकेटकिपर इफरान करिमले ४४ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन बनाए । लुकास अलुओच १३ बलमा ५ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे ।

तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर एलेक्स ओबान्डालाई ६ रनमा बोल्ड आउट गरे । एलेसले त्यसअघिको बलमा सोमपाललाई छक्का हानेका थिए । आदिल अन्सारीको छैटौं ओभरको अन्तिम बलमा कोलिन्स ओबुया मिडअफमा ज्ञानेन्द्र मल्लबाट १२ रनमा क्याच आउट भए । उनले ११ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

रकिब पटेललाई सन्दीप लामिछानेले आठौं ओभरको दोस्रो बलमा ९ रनमा एलबीडब्लू आउट गरे । दीपेन्द्रसिंह ऐरीले नेल्सन ओधियाम्बोलाई १९ रनमा वैकिल्पक फिल्डर देव खनालबाट क्याच गराए । इफराम करिमलाई सन्दीपले नै कट एण्ड बोल्डको सिकार बनाए । १८ औं ओभरमा सन्दीपले दुई छक्का र एक चौकासहित कुल १७ रन खर्चिएका थिए ।

सचिन भुडिया १५ बलमा २ छक्कासहित १७ रनमा आउट भए । लगत्तै अर्को बलमा शेम न्योचेलाई आउट गरे । १९ औं ओभरमा सोमपालले दुई विकेट लिँदै मात्र एक रनमात्र खर्चिए ।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । दोस्रो खेल शुक्रबार हुनेछ ।

नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल(उपकप्तान), आसिफ शेख(विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो, विवेक यादव ।

केन्या र नेपालबीचको खेल तालिका
दोस्रो टि२० आई खेल – भदौ १० (अगष्ट २६)
तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८)
चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९)
पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०)
तीन एकदिवसिय अभ्यास खेल
पहिलो खेल – भदौ १७ (सप्टेम्बर २)
दोस्रो खेल – भदौ १८ (सप्टेम्बर ३)
तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५)