
काठमाडौ । नेपालले पहिलो टि-२० आई खेलमा घरेलु टोली केन्यामाथि ५ विकेटको सहज जित हात पारेको छ । योसँगै पाँच टि-२० आई खेलको सिरिजमा नेपालले १–० को अग्रता लिएको छ ।
जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले २४ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३३ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ३० बलमा ३ चौकासहित २३ रनमा आउट भए ।
ओपनर पवन सरार्फ १, आसिफ शेख १९ र रोहित पौडेल १३ रनमा आउट भए । आसिफले २७ बलमा ३ चौका प्रहार गरे । आरिफ शेख १५ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा अविजित रहे । आदिल अन्सारी २ रनमा अविजित रहे ।
नेपाल र केन्याबीच सन् २०१३ पछि पहिलो पटक टी-२० फर्म्याटमा खेल भएकाे हाे । एकदिवशीयमा नेपाल र केन्या पछिल्लो पटक सन् २०१८ मा खेलेका थिए । तर टी-२० मा भने लामो समयपछि यी दुई टोली भिड्न लागेका हुन् । सन् २०१३ मा युएईमा भएको टी-२० विश्वकप क्वालिफायरमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको थियो । त्यस खेल खेलेका एक मात्र खेलाडी ज्ञानेन्द्र मल्ल अहिले नेपाली टिममा छन् ।
