
धादिङ । बागमती प्रदेश खेलकुद परिषदले गत चैतमा सम्पन्न गरेको प्रदेश स्तरीय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई असोजमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा राख्न खेलाडी छनोट गरेको छ ।
बागमती प्रदेशले फुटबल तर्फ ४९ जना बन्द प्रशिक्षणमा छनोट गर्दा अन्तराष्ट्रिय प्रतियोगिता खेलि सकेका इश्वर गुरुङ एभिजन लिग खेलि सकेका विपिन कडेल र रवि भण्डारी गरी ३ धादिङका परेका छन् ।
क्रिकेटमा २८ जना खेलाडीहरुलाई बागमती प्रदेशले बन्द प्रशिक्ष राख्दा धादिङबाट अमृत थापा, उज्वल थापा, श्याम त्रिपाठी र कौशल रुपाखेती परेका छन् । यस्तै भलिबल पुरुष तर्फ २३ जना बन्द प्रशिक्षणको लागि छानिदा धादिङबाट मनोजकुमार श्रेष्ठ मात्रै परेका छन् भने महिला भलिबलमा २० जना छान्दा धादिङबाट गंगा गुरुङ कृषला बराम दुई जना परेका छन् ।
महिला फुटबल तर्फ ३३ जनालाई बागमती प्रदेशले बन्द प्रशिक्षणमा राख्दा धादिङबाट ५ जना महिला खेलाडी छनोटमा परेका छन् । धादिङबाट महिला फुटबल तर्फ प्रदेशको बन्द प्रशिक्षणमा पर्ने खेलाडीहरुमा पार्वती घले, रञ्जिता दुरा, खन्जना विसुङ्खे, कमला घले र सजना राई छन् ।
यस्तै एथलेष्टिक तर्फ अन्तराष्ट्रिय प्रतियोगिताहरुमा समेत प्याम्पियन बनेर आफ्नो छुट्टै परिचय बनाउन सफल खेलाडी सन्तोषी श्रेष्ठलाई प्रदेशले धादिङबाट ५००० मिटर दौडको लागि बन्द प्रशिक्षणमा बोलाएको छ ।
