धादिङका रामकृष्ण अधिकारी बचत कर्ताको रकम ठगी गरेको आरोपमा पक्राउ

Avatar photo
Dhadingpost
भदौ २, २०७९

हेटौंडा । धादिङ फूलखर्क घर भई हाल हेटौंडा–८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारीलाई प्रहरीले सहकारी बचत कर्ताको रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनी हेटौंडास्थित जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् ।

यस्तै पक्राउ पर्नेमा सहकारीका कोषाध्यक्ष हेटौंडा–८ का ३२ वर्षीय राजीव घलान पनि छन् । हेटौंडा उपमहानगरपालिका–२ स्थित जनचेतना स्वाबलम्बन बचत तथा ऋण सहकारी लिमिटेडमा बचतकर्ताहरुले बचत गरेको करिब ७० लाख रुपैयाँ हिनामिना गरेको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता टेक बहादुर कार्कीका अनुसार अधिकारी र कोषाध्यक्ष घलान विरुद्ध ४० जनाले जाहेरी दिएका छन् । यो संख्या बढेर ५ सय जना पुग्न सक्ने कार्कीको अनुमान छ । ‘पीडितहरुको जाहेरीको आधारमा हामीले पक्राउ गरेका हौँ । उहाँहरु विरुद्ध अहिले करिब ६० लाख रुपैयाँ ठगीको आरोप छ । यो अझै बढेर जाने हाम्रो आंकलन छ,’ उनले भने ।
अध्यक्ष अधिकारी र कोषाध्यक्ष घलानले पीडितहरुको पासबुक समेत कब्जा गरेर राखेको आरोप छ ।

सहकारीमा बचत गर्दै आएकी हेटौंडा–१८ की कमला बिडारी, हेटौंडा–२ की बबिता श्रेष्ठलगायतले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सहकारी सञ्चालकविरुद्ध साउन २४ मा उजुरी दिएका थिए । उजुरीमा उनीहरूले आफूहरूको पैसा फिर्ता माग्दा नदिइएको उल्लेख गरेका थिए । अध्यक्ष र कोषाध्यक्षविरुद्ध प्रहरीमा जाहेरी दिनुअघि उनीहरूलाई साउन २० गते सटही हुने गरी चेक दिइएको थियो । तर चेक नसाटिएपछि उनीहरूले साउन २४ मा प्रहरीमा उजुरी दिएका हुन्

सहकारीले बचतकर्ताको रकम फिर्ताका लागि मेनुका श्रेष्ठ पाख्रिनको नाममा १५ लाख ४६ हजार ८३२, अनुषा राजवाहक/देविका शर्माको नाममा २५ लाख ७८ हजार ९८०, पावर्ती हमालको नाममा १६ लाख ९५ हजार, सविता स्याङतानको नाममा १० लाख ७१ हजार ४४५ र सुनिलकुमार बानियाँको नाममा ११ लाख ८० हजार रुपैयाँको ५ थान चेक काटेको थियो । तर खातामा रकम नभएकाले ती चेक नसाटिएपछि उनीहरुले जाहेरी दिएका हुन् ।