
धादिङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि धादिङ जिल्ला छनोटको लागि आठ वटा खेल विधाहरुका खेलाडीलाई भाग लिन सूचना जारी भएको आज अन्तिम दिन हो ।
जिल्ला, प्रदेश छनोट हुँदै खेल्न पाईने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि बागमती प्रदेशले भाद्र १० गते भित्र जिल्ला छनोट गराई सक्न प्रत्रचार गरेअनुसार जिल्ला खेलकुद विकास समिति धादिङले भाद्र २ गते अन्तिम मिति राखेर खेलाडीहरुलाई दर्ता हुन सूचना जारी गरेको थियो ।
८ विधामा छनोट गरिने जनाएपनि धादिङमा अहिले सम्म ३ विधामा मात्रै खेलाडीहरुले छनोटको लागि निवेदन दिएका छन् । अत्यन्त महत्वपूर्ण मानिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लाबाट छनोट हुँदै प्रदेश छनोटमा जानुपर्ने प्रवाधान भएपनि धादिङमा भने ३ विधाबाहेकका अन्य विधाहरुमा छनोट हुनै आएका छैनन् ।
जिल्ला खेलकुद विकास समिति धादिङले दिएको जानकारी अनुसार बुधबार सम्म धादिङमा आठ विधाका खेलहरु मध्य कबड्डी, फुलकन्ट्याक्ट कराँते र बुद्धिचालमा मात्रै जिल्ला छनोटका लागि खेलाडीहरुले निवेदन दिएका छन् । जिल्लाखेलकुद विकास समिति धादिङका कार्यालय प्रमुख रमेशमान तुलाधरका अनुसार जिल्ला छनोटका लागि भदौ ६ गते सम्म निवेदन दिने तयारी भएको छ ।
प्रदेश खेलकुद परिषदले धादिङमा आठ विधाका खेलहरु बास्केटबल, जुडो, उसु, बुद्धिचाल, आई टि एफ तेक्वान्दो, कबड्डी, फुलकन्ट्याक्ट कराँते र टेबुलटेनिसमा खेलाडी छनोट गर्न पत्राचार गरेको भएता पनि धादिङ ३ विधा बाहेकका विधामा खेलाडीहरुको जिल्ला छनोटको लागि निवेदन परेको छैन ।

