शालिकराम जमकट्टेलद्वारा वाईसीएललाई चुनाव केन्द्रित बन्न निर्देशन

Avatar photo
Dhadingpost
साउन २०, २०७९

धादिङ । नेकपा माओवादी केन्द्र धादिङका इन्चार्ज एवम् बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले बाईसीएललाई मंसिर ४ गते हुने संघ र प्रदेशको चुनाव केन्द्रित हुन निर्देशन दिएका छन् । योग कम्युनिष्ट लिग नेपाल (वाईसएिल) धादिङको दोस्रो पूर्ण बैठकका प्रमुख अतिथि समेत रहेका जिल्ला इन्चार्ज जमकट्टेलले पार्टीले गरेका राम्रा कामहरुलाई एजेण्डा बनाएर जनताकोमा जान वाईसीएल धादिङलाई निर्देशन दिएका हुन् ।

यस्तै माओवादी केन्द्र बागमती प्रदेशका सह-सचिव दलबहादुर बुर्लाकोटी विजयले आन्तरिक झिना मसिना कुरामा युवाहरु अल्झिनु हुन्न यसले पार्टी कमजोर हुन्छ, प्रतिगमनका मतियारहरु फेरि सल्बाउँदै छन्, जनयुद्ध र जनआन्दोलनको ऐतिहासिक उपलब्धीको रक्षा गर्न पार्टीका सबै कमिटीका सदस्यहरु एकताबद्ध भएर चुनाव केन्द्रित बन्नुपर्ने बताए ।

त्यसैगरि माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङका संयोजक मनराज भण्डारीले अब कुन कमरेडले कसरी पार्टी र संगठनको काम गरेको छ एक एक गरेर हेरिने र मुल्याङ्कन गरिने बताए । माओवादीले जित्नु पर्छ एक सुत्रिय एजेण्डा यहि हो, सबै यहि एजेण्डामा केन्द्रित हुनुपर्ने उनको जोड थियो ।

वाईसीएल केन्द्रिय सचिवाल सदस्य चन्द्रबहादुर सिलवाल, बागमती प्रदेशका सह संयोजक सन्तोष पनेरु, धादिङ जिल्ला इन्चार्ज राजाराम रिजालको आतिथ्यता रहेको बैठकको सभापतित्व जिल्ला अध्यक्ष रोमी घलेले गरेका थिए ।