
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा २ हजार ८८५ जनाले आ-आफ्नो वडा बाटै सामाजिक सुरक्षा भत्ता लिएका छन् । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुद्रिढीकरण आयोजना संचालन निर्देशिका २०७४ दोश्रो संसोधन २०७६ बमोजिम सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली बैंक मार्फत गराउने नीति अनुरुप बेनीघाट रोराङले वडाबाटै भत्ता उपलब्ध गराएको जनाएको छ ।

प्रत्येक चार/चार महिनामा वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता बेनीघाट रोराङमा यो पछिल्लो चौमासिक प्रत्येक वडा/वडाबाट वितरण भएको र २ हजार ८८५ जना लाभग्राहीले भत्ता बुझेको गाउँपालिकाको पञ्जिकरण शाखाले जनाएको छ ।
यस गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्नेमा सबै भन्दा धेरै ७० वर्ष माथिका जेष्ठ नागरिक १ हजार ६४२ जना रहेका छन् । यस्तै जेष्ठ नागरिक भत्ता दलित तर्फ १६१ जना, जेष्ठ नागरिक एकल महिला तर्फ २३८ जना, विधवा आर्थिक सहायता तर्फ ३२४ जना, अपाङ्गता क र ख वर्ग २४५ जना र दलित बालबालिक २७५ गरी २ हजार ८८५ जना छन् ।

