दुई लाख डोज काेराेना खोप प्रयोग नै नभएर गयो खेर

Avatar photo
Dhadingpost
साउन १५, २०७९

काठमाडौं । पछिल्ला दिन निरन्तर बढिरहेको कोरोना संक्रमणले चौथो लहरको जोखिम बढाएको छ । तर, सरकारले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन नसक्दा यही वेला साढे १७ करोड मूल्य पर्ने दुई लाख डोज खेर गएको छ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार शनिबार दुई लाख डोज कोभिसिल्डको म्याद सकिएको हो । १७ करोड ६४ लाख मूल्यको खोप खेर गएको विभागले जनाएको छ । महाशाखा निर्देशक डा. रुद्र मरासिनीले खेर गएको खोपको मात्रा दुई लाखभन्दा बढी नै पनि हुन सक्ने बताए । ‘शनिबारदेखि म्याद सकिएर कम्तीमा दुई लाख मात्रा कोभिसिल्ड खेर गएको हाम्रो अनुमान छ । योभन्दा बढी नै पनि हुन सक्छ,’ उनले भने, ‘उक्त खोप केन्द्रीय भण्डारण स्टोरमा खेर गएको होइन, जिल्ला–जिल्लामा वितरण भएको खोप हो । विभागले देशभरबाट विवरण माग गरेको छ ।’

विभागमा एक लाख ६४ हजार एक सय ७० डोज खेर गएको तथ्यांक आइसकेको छ भने बाँकीको आधिकारिक तथ्यांक संकलन भइरहेको छ । तथ्यांकअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंमा १० हजार डोज र बागमती प्रदेशमा ८५ हजार एक सय २० डोज कोभिसिल्डको म्याद सकिएको छ । त्यस्तै, प्रदेश १ मा ११ हजार, हेटौँडा कोल्ड चेन स्टोरमा ३६ हजार, टेकु कोल्ड चेन स्टोरमा १९ हजार चार सय ८० र गण्डकी प्रदेशमा दुई हजार पाँच सय ७० डोज मौज्दात रहेकामा सबैको म्याद शनिबारदेखि सकिएको छ । स्वास्थ्य सेवा विभागका फार्मेसी अधिकृत बडेबाबु थापाले खोप कति बाँकी छ र कतिको म्याद सकियो भनेर अन्तिम विवरण संकलनको काम भइरहेको बताए ।

म्याद सकिएर खेर गएको खोप विभिन्न समयमा दातृराष्ट्रबाट अनुदानमा आएको थियो । तर, स्वास्थ्य मन्त्रालयका अनुसार सम्बन्धित देशले खरिद गरेर अनुदानमा दिएकाले ती देशले हरेक वर्ष नेपाललाई गर्ने सहयोगमा उक्त रकम जोड्ने गर्छन् ।

सरकारले तेस्रो डोज लगाउनसमेत अनुरोध गरे पनि खोपप्रति उत्साहजनक आकर्षण देखिएको छैन । विगतमा दैनिक पाँच लाखसम्मले खोप लगाएकामा अहिले ५० हजारदेखि एक लाखसम्मले मात्रै लगाउने गरेका छन् । त्यसमा पनि खोप अभियान निरन्तर चलेको छैन । शनिबार ५८ हजार पाँच सय ५९ जनाले मात्रै कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप अभियान प्रभावकारी बनाउन नसक्नु र सर्वसाधारणमा उत्साह नदेखिनुले ठूलो मात्रामा खेर गएको अधिकारहरू बताउँछन् ।

विभागका अनुसार अब केन्द्रमा कोभिसिल्ड खोप छैन । तर, भएका अन्य खोपको म्याद भने धेरै रहेको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाले बताए । ‘लगाउने मानिसहरू कम उपस्थित भएका कारण खोप खेर गएको छ,’ उनले भने, ‘बीचमा संक्रमण घटेपछि सबैले खोपलाई बेवास्ता गरे । कोरोना सकियो भन्दै खोप लगाउन चासो नदिएपछि खेर गएको हो । नयाँ पत्रिकाबाट