नेपाल आज साँझ भारत सँग भिड्दै

Avatar photo
Dhadingpost
साउन १५, २०७९

धादिङ । नेपाली यू-२० राष्ट्रिय फुटबल टोलीले साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले आज (आइतबार) साँझ तेस्रो खेलमा साविककाे विजेता भारत सँग खेल्दै छ । भारतकाे भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० गोल अन्तरले हराएको थियो । नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यदि भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ ।

नेपाली टिमका प्रशिक्षक मेघराज केसीले नेपाली टोली योजना बनाएर आएकाले अन्य खेलजस्तै भारतको खेलका लागि पनि तयार रहेको बताए । ‘नेपालबाट आउँदा नै हामी सबै ४ टोलीसँग खेल्न आएका हौं । नेपाल हुँदा नै हामीलाई तेस्रो खेल भारत र चौथो बंगलादेशसँग खेल्ने भन्ने थाहा थियो । हाम्रो टिमले एकजुट भएर मिहिनेत गरेको छ,’ उनले भने, ‘त्यो अनुसार प्रदर्शन हुनेमा ढुक्क छु । हामी विना योजना आएको पनि होइन । त्यसैले सबै चार टिमलाई बलियो प्रतिस्पर्धीको रुपमा लिएको छु र सबैलाई हराउने गरी मिहिनेत गर्नुपर्छ ।’

यसअघि यू-१९ र यू-१८ शीर्षकमा भएको यस प्रतियोगिताको सुरुवाती दुई संस्करण नेपालले जितेको थियो । तेस्रो संस्करणमा भने नेपाल समूह चरणबाट नै बाहिरिएको थियो । प्रशिक्षक केसी उमेर समूहमा सबै टोली उस्तै रहेको बताउँछन् । ‘उमेर समूहमा दक्षिण एसियाको सबै टोली उस्तै छन् । कहिलेकाहीं तलमाथि देखिने हो । खास फरक छैन,’ उनले भने ।

प्रशिक्षक केसीले भारतविरुद्ध खेलअघि कुनै चोटको समस्या नरहेको बताए । ‘हामी भारत आएदेखि नै टिममा चोटको कुनै समस्या छैन । तुलनात्मक रुपमा गर्मी छ तर खेलाडी भएपछि गर्मी सहनु पर्छ । हामी नेपालबाट हिडेको अवस्थामा नै अहिले पनि छौं,’ उनले भने ।

नेपाली यू २० टोली
गोलकिपर: इश्वर गुरुङ, युनेश चौधरी, जियारथ शेख
रक्षक: अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइवा
मिडफिल्डर: दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्ड: दीपेश राई, निराजन मल्ल, रोशन खड्गी

प्रतियोगिताको अंक तालिकामा बंगलादेश शीर्षस्थानमा छ । ३ खेलमा ९ अंक जोड्दै बंगलादेश फाइनलमा पुग्ने लगभग पक्का देखिन्छ । दोस्रो स्थानको नेपालको २ खेलमा ६ अंक छ । भारत २ खेलमा ३ अंकसाथ तेस्रो स्थानमा छ । पुछारमा रहेका माल्दिभ्स र श्रीलंकाले कुनै अंक जोडेका छैनन् । ३ खेल हरेको श्रीलंका समूह चरणबाट बाहिरिंदा माल्दिभ्सको सम्भावना अंक गणितमा सिमित छ ।

प्रतियोगिताको समूह चरणबाट शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । नेपालले अब ३१ जुलाईमा भारत र २ अगस्टमा बंगलादेशसँग खेल्नेछ । फाइनल ५ अगस्टमा हुनेछ ।