
धादिङ । धादिङबाट काठमाडौं गई पर्यटन व्यवसाय गर्दै आएकाहरुको संख्या उल्यख्य रहेको छ । तसर्थ टान होस वा अन्य पर्यटन सँग सम्बद्ध संस्थाहरुमा धादिङका पर्यटन व्यवसायीहरु समेटिएकै हुन्छन् । पर्यटन सँगै जोडिएको एक संस्था ठमेल पर्यटन विकास परिषदको निर्वाचन भोली अर्थात शनिबार हुँदैछ । यो निर्वाचनमा पनि अध्यक्ष, उपाध्यक्ष र सदस्यमा गरी धादिङका ३ जना पर्यटन व्यवसायीहरुले उम्मेदवारी दिएका छन् ।
ठमेल पर्यटन विकास परिषद सामाजिक साझा संस्था भएपनि भोली हुने यसको चुनावमा राम्रै राजनैतिक गठजोड देखिएको छ । जसमा कांग्रेस नीकट पर्यटन व्यवसायीहरु दुई प्यानलमा देखिएका छन् । एउटा प्यानलले सत्ता गठबन्धन घटकहरुको प्यानललाई सघाएको देखिन्छ भने कांग्रेसको अर्को समुहले एमाले नीकट प्यानललाई सघाएको छ ।
एमाले-कांग्रेस नीकट पर्यटन व्यवसायीहरुको प्यानलले अध्यक्षमा धादिङका ध्रुव अधिकारीलाई अगाडी सारेको छ, अधिकारी एमाले धादिङका नेता समेत हुन् भने सत्ता गठबन्धन घटकहरुको प्यानलबाट धादिङका सहदेव धमलाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् उनी माओवादी नीकट हुन् । यस्तै धादिङ सिद्धलेक गाउँपालिकाबाट काठमाडौं गई पर्यटन व्यवसाय गर्दै आएका प्रकाश थपलियाले सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनले ध्रुव अधिकारीको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।
सत्ता गठबन्धन घटकले अध्यक्षमा सक्रिय राजनीति नगरेका पर्यटन व्यवसायी भविश्वर शर्मालाई उठाएको छ भने यस प्यानलबाट उपाध्यक्षमा सहदेव धमला, उपाध्यक्षमा ३ जनामा सुरेन्द्र श्रेष्ठ, प्रश्रय राज भण्डारी, महासचिवमा बद्री प्रसाद तिमल्सिना, सचिवमा सोजेश मान मालाकार, कोषाध्यक्षमा उज्वल थपलिया र सदस्यहरु ८ जनामा रोशन अधिकारी, कोपिला सिंखडा, चेतनाथ पुडासैनी, पूर्णिमा मालाकार, अमृत थोकर, तेन्जिङ लामा, लालबाबु चौधरी र पूर्ण प्रसाद चौलागाईलाई उठाएको छ ।
यस्तै एमाले कांग्रेस व्यवसायीहरुको गठबन्धनबाट अध्यक्षमा ध्रुव अधिकारी, उपाध्यक्ष ३ जनामा राजुमान डंगोल, गीता गुरुङ र महेश महर्जनको उम्मेदवारी रहेको छ । यस प्यलनको महासिचवमा राजिव पाण्डे, सचिवमा रामचन्द्र गिरी, कोषाध्यक्षमा पुण्यराम लागेजु सदस्यहरु ८ जनामा प्रकाश थपलिया, कमल भण्डारी, विनोद श्रेष्ठ, रंजयमान प्रधान, श्रीकृष्ण थपलिया, प्रविण रत्न बज्रचार्य, दिलिप कंडेल र हामेनाथ अधिकारीको उम्मेदवारी रहेको छ ।
