
काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणदर बढ्दो क्रममा छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुसार असार १ गते एक प्रतिशतभन्दा कम भएको सङ्क्रमणदर असार ५ बाट बढेर २ प्रतिशतको हारहारीमा पुगेको थियो।
मन्त्रालयको तथ्याङ्क केलाउँदा असार १ गते ०.६४ प्रतिशत, असार ५ गते बढेर १.१३ प्रतिशत थियो। असार १९ गते आइतबार दुई हजार १२० जनाको आरटी पीसीआर र एन्टिजेनबाट परीक्षण गर्दा ५३ जनामा कोरोना पुष्टि भएको छ । यो सङ्क्रमणदर २.५ प्रतिशत हो।
सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौंमा १८ जना छन्। त्यसैगरी, ललितपुरमा सात, धनुषामा तीन, भक्तपुरमा दुई, कास्कीमा दुई, सर्लाही, काभ्रे, चितावन, सिन्धुपाल्चोक, स्याङ्जा, बाँके र कैलालीमा एक–एकजनामा कोरोना पुष्टि भएको छ।
उमेरअनुसार २१ देखि ३० वर्षका १०, ४१ देखि ५० वर्षका ९, ३१ देखि ४० का ५, १० वर्षसम्मका २, ११ देखि २० एक, ५१ देखि ६० वर्षका ४ र ६१ देखि ७० का दुई जनामा कोरोना पुष्टि भएको छ।
असार १ गतेदेखि १९ गतेसम्म एन्टिजेन र पीसीआर परीक्षण गर्दा ६८४ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा २८४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। यस अवधिमा कोरोना सङ्क्रमित कसै पनि मृत्यु भएको छैन।
नयाँ भेरियन्टको परीक्षण हुँदैछ : डा. दास
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाका निर्देशक डा.चुमनलाल दासले कोभिडको जोखिम कम भइनसकेको अवस्थामा जनस्वास्थ्यका मापदण्ड अपनाउनमा हेलचेक्रयाइँ गर्दा र खुला सीमा नाकामा मानिसको आवतजावतले गर्दा नेपालमा सङ्क्रमणदर बढेको बताउनुहुन्छ।
नेपालमा सङ्क्रमणदर बढेसँगै नेपाल भित्रिने नाकाहरुमा कडा निगरानी गर्नुका साथै परीक्षण गरेमात्र नेपाल भित्रने व्यवस्था मिलाउन निर्देशन दिइसकेको डा.दासले भन्नुभयो। यसका साथै नेपालमा फैलिरहेको भेरिएन्ट कुन हो भनेर पत्ता लगाउन टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ (अनुवांशिक) गरेको जानकारी दिनुभयो। जीन सिक्वेन्सिङ गर्दा अहिलेसम्म नयाँ भेरिएन्ट पत्ता नलागेको डा.दासले उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, ‘‘अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ अहिलेसम्म नयाँ भेरिएन्ट भेटिएको छैन, तर उपत्यका बाहिरका प्रयोगशालामा भने ओमिक्रोनको नयाँ भेएिन्ट बीएन फाइभ पुष्टि भएको भन्ने समाचार आएका छन् हामीले पुष्टि गर्दैछौँ।” गोरखापत्रबाट
