बेनीघाट रोराङले भोली ३ जना क्रिकेट खेलाडीलाई नगद सहित सम्मान गर्ने

Avatar photo
Dhadingpost
असार १४, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले भोली बुधबार बेनीघाट रोराङबाट बागमती प्रदेश स्तरीय क्रिकेट खेल्ने ३ जना खेलाडीलाई नगद सहित सम्मान गर्ने भएको छ ।

धादिङको इतिहासमा पहिलो पटक प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा भाग लिँदै उप विजेता बनेको अवसरमा तात्कालिन पालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बेनीघाटका ३ जना खेलाडी र क्रिकेट संघ धादिङबाट खेल्ने अन्य खेलाडीलाई ५० हजार आर्थिक सहयोगको घोषणा गरेका थिए ।

डल्लाकोटीले धादिङ र मकवानपुर बीच भएको बागमती प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको फाईनल अवलोकन गर्न चितवन स्थित गौतब बुद्ध क्रिकेट रंगशाला नै पुगेर धादिङको क्रिकेट टिमलाई नगद ५० हजार र टिम भित्र परेका बेनीघाट रोराङका ३ जना खेलाडी श्याम त्रिपाठी, आशिष मिया, एन्जल सिलवाललाई जनही २५-२५ हजार प्रदान गर्ने घोषणा गरेका थिए ।

निवर्तमान पालिका अध्यक्षको घोषणालाई कार्यान्वयन गर्दै, वर्तमान अध्यक्ष कृष्णबहादुर थपलिया विवेकले भोली खेलाडी सम्मानको कार्यक्रमको आयोजना गरेका हुन् ।

गत चैत्रको पहिलो साता भएको बागमती प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा रसुवालाई ५ ओभरमा अलआउट गर्दै अगाडी बढेको धादिङ क्रिकेट टिमले काठमाडौंलाई १९ ओभरमा पराजित गर्दै सेमिफाईनको यात्रा तय गरेको थियो । राष्ट्रिय टिमबाट खेलिसकेकाका पूर्व खेलाडी सुवास खकुरेल र अण्डर-१९ का राष्ट्रिय खेलाडी विवेक रानामगर संमिलित काभ्रेलाई धादिङले सेमिफाईलनमा १५५ रहनले पराजित गरे पनि फाईनलमा भने धादिङलाई सुखद हुन सकेन । मकवानपुर सँग फाईनल खेलेको धादिङले ३७ रनले पाजित हुँदै उपविजेतामा रोकिन पुगेको थियो ।