
धादिङ । माओवादी जनयुद्धका सहिद अर्जुन लम्सालको १८ औं स्मृति दिवासको अवसरमा जिल्ला अस्पताल धादिङबेसीमा सार्वजनिक धारा जडान गरिएको छ । आफ्नो बुबाको सम्झनामा सहिद अर्जुन लम्सालका छोरा एम्बुलेन्स चालन रुपेश लम्सालले अस्पताल परिसरमा सार्वजनिक धारा जडान गरेका हुन् ।
सहिद लम्सालको स्मृतिमा बनाएको खानेपानी धारा हस्तान्तरण एवम् स्मृति दिवासमा बोल्दै माओवादी केन्द्र धादिङका नेता रामबहादुर भण्डारीले महान सहिदहरुलाई कसैले पनि विर्सन नहुसने र सहिदको सम्झनामा सामाजिक काम गर्न जनप्रतिनीधिहरुले ध्यान दिनु पर्ने बताएका थिए ।

अर्जुन लम्सालको संक्षिप्त जिवनी
धादिङ मुरलीभञ्ज्याङ डाडा थोकमा पिता उदयनाथ लम्साल र माता लक्ष्मी लम्सालको कान्छो छोरा अर्जुन प्र. लम्साल वि. स. २०१९ साल कार्तिक १६ गते जन्मनु भएको हो । अर्जुनको दाजु सुकदेव लम्साल हुनुहुन्छ । जीवन संगिनी जानकी देवी लम्सालबाट छोराहरु सन्तोष, रुपेश र छोरीहरु इन्दीरा, रिता, संगिता हुनुहुन्छ ।
निम्न मध्यम परिवारमा जन्मेका अर्जुन असाध्यै मेहनती हुनुहुन्थ्यो । विएड सम्म अध्ययन गर्नु भएका अर्जुनले सामरीभन्ज्याङ आधारभुत विद्यालयबाट तीन सम्म र निलकण्ठ माविबाट एसएलसी पास गर्नु भएको हो । विद्यार्थी कालदेखि नै मशाल एकता केन्द्र हुदै माओवादीमा भुमिगत हुनुभयो । उहाँको सम्पुर्ण परिवार तात्कालिन अवस्थामा माओवादी मै आबद्ध थियो । केही वर्ष खरदारको जागिर पनि खानु भयो । पछि मुरलीभन्ज्याङमा अध्यापन पनि गराउनु भयो ।
स्थानीयहरुले जनाए अनुसार उहाँले मुरलीभन्ज्याङमा धेरै सामाजिक कार्यहरु गर्नुभएको थियो । ढोडेनी खेतको कुलो निर्माण, जराजुरी संरक्षण कोषको जिल्ला सदस्य, नेपाल रेडक्रसको आजीवन सदस्य पनि हुनुहुन्थ्यो । उहाँ व.स. २०६० साल वैशाखमा माओवादीको पुर्णकालिन बन्नु भइ शिक्षक संगठनको जिल्ला सदस्य बन्नु भयो । वि. स. २०६१ सालमा एरिया पार्टी सदस्य हुनु भयो ।
उमेरले पाका निकै अनुभवि शिक्षक फौजी क्षेत्रमा पनि निकै आँटीला थिए । उहाँको परिवारले पनि धादिङ पार्टीलाई महत्वपुर्ण सहयोग गरेको छ । संगठनको काममा उहाँ ज्यामरुङ्ग जानु भयो । ज्यामरुङ्गको लामास्थानको उकालोको घुम्तीको जंगलमा तात्कालिन शाही सेनाले सेना संग जम्काभेट हुँदा गोली हानी हत्या गरेको थियो ।
