एएफसी एसियन कप २०२३ छनोटमा नेपाल जोर्डनसँग पराजित

Avatar photo
Dhadingpost
जेष्ठ २६, २०७९

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को पहिलो खेलमा जोर्डनसँग नेपाल २-० पराजित भएको छ । कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको उक्त प्रतियोगिताको पहिलो हाफमा गोलरक्षक दीपले पेनाल्टी जोगाएका थिए । तर दोस्रो हाफमा जोर्डनले २ गोल गर्दै सहज जित हासिल गर्यो ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गोलरक्षक दीप कार्की र डिफेन्डर विकास तामाङलाई डेब्यु दिएका थिए । नयाँ स्वरूपमा उत्रिएको नेपाल खेलको अधिकांश समय दबाबमा नै रहयो ।

दोस्रो हाफको ६९ औं मिनेटमा जोर्डनले सुरुवाती अग्रता लियो । अलि ओल्वानले सुन्दर फिनिस गर्दै जोर्डनलाई अघि बढाएका थिए । नेपालको डिफेन्स लाइन सुन्दर पासमा बिट भएपछि उनले पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर फिनिस गरेका थिए ।

८२ औं मिनेटमा जोर्डनले खेलको दोस्रो पेनाल्टी पायो । सुमन अर्यालले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि जोर्डनले अग्रता दोब्बर पार्ने अवसर पाएको थियो । हम्जा अल दार्दरले पेनाल्टी प्रहारमा गोलरक्षक दीपलाई विपरित दिशामा पठाउँदै अग्रता दोब्बर पारे ।

यसअघि समूह ए को पहिलो खेलमा इन्डोनेसियाले कुवेतलाई २-१ ले स्तब्ध पारेको थियो । यस नतिजासँगै नेपाल अंक तालिकाको पुछारमा रहेको छ । तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ५ दोस्रो हुने टोलीले पनि सन् २०२३ मा चीनमा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन् ।