
काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले बिरामीको लागि चाहिने रगत पूर्ण रुपमा निशुल्क गर्न सरकारसंग माग गरेको छ । बिरामीसंग विभिन्न परीक्षण र सेवा शुल्कका नाममा रक्तसञ्चार केन्द्रहरुले शुल्क उठाउँदै आइरहेको भन्दै महासंघले दान प्राप्त भएको रगत पूर्ण रुपमा नि:शुल्क हुनुपर्ने माग गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दानबाट प्राप्त हुने रगत र रक्त तत्वको मूल्य ६५ देखि ३२० प्रतिशतसम्म बढाए पछि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले विरोध जनाएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गत बुधबार सबै रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मूल्यबारे जानकारी गराउँदै पठाएको पत्रमा प्रति युनिट रगतको सेवा शुल्क ८१० देखि अधिकतम १६४० सम्म कायम गर्न सकिने बताएको छ । यसअघि प्रति युनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो । रगतको मुल्य बृद्धिभएसँगै नेपाल स्वयंसेवी रक्तदाता समाजले पनि रगतमा कुनै शुल्क नलिन माग गरेको छ ।
