
काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट भएको छ । मलेसियाको यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८ रन बनायो ।
नेपालकी स्नेहा महराले १० बलमा सर्वाधिक तीन रन बनाइन् । ओपनर मनिषा रानाले २, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १-१ रनमा आउट भए । लज्जास्पद ब्याटिङ गर्नेक्रममा नेपालका ६ खेलाडीले खाता खोल्न सकेनन् ।
अञ्जली विश्वकर्मा, साना प्रविन, सृष्टि जैशी, एलिसा कुमारी यादव, रञ्जु श्रेष्ठ र कृतिका मरासिनी शून्यमा आउट भएका छन् । युएईकी महिका गौरले ४ ओभरमा २ मेडनसहित २ रन खर्चेर ५ विकेट लिइन् । इन्धुजा नन्दका कुमारले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिएकी छिन् । सिमराले १ विकेट लिइन् ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । युएईले भुटानलाई १ सय ६० रनले पराजित गरेको थियो । दुबै टोली लगातार दोस्रो जितका साथ विश्वकपमा आफ्नो स्थान बलियो बनाउन चाहन्छन् । ६ टोली सहभागी छनोटमा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू१९ टि२० महिला विश्वकप खेल्न पाउनेछ ।
