हामीले रक्तदान गर्ने, त्यहि रगतमा सरकारको मुल्य बृद्धि

Avatar photo
Dhadingpost
जेष्ठ २१, २०७९

काठमाडौं । रेडक्रस, रक्तसंचार केन्द्र, विभिन्न समाजिक संघ संस्थाहरुले नियमित जसो रक्तदान कार्यक्रमहरु गरि रहेको र उक्त कार्यक्रममा स्वयम सेवक रक्तदाताहरुको उल्लेख्य सहयोगको रहँदै आएको छ ।

सरकारले तिनै रक्तदाताहरुबाट दान स्वरुप प्राप्त रगतको मुल्यमा भारी बृद्धि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दानबाट प्राप्त हुने रगत र रक्त तत्वको मूल्य ६५ देखि ३२० प्रतिशतसम्म बढाएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गत बुधबार सबै रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मूल्यबारे जानकारी गराउँदै पठाएको पत्रमा प्रति युनिट रगतको सेवा शुल्क ८१० देखि अधिकतम १६४० सम्म कायम गर्न सकिने बताएको छ । यसअघि प्रति युनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजले रगतको मूल्य बढाएको प्रति बिरोध गरेको छ । समाजका अध्यक्ष प्रेम सागर कर्माचार्यले विज्ञप्ती जारी गर्दै यथाशीघ्र निशुल्क दानमा उपलव्ध हुँदै आएको रगत र रगतबाट तयार पारिएको रक्त तत्वहरु बिरामी समक्ष स्वास्थ्य लाभको निमित्त निशुल्क प्राप्तिको व्यवस्था मिलाउन माग गरेको छ ।

गत वर्ष १५ औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसमा प्रयोगशाला कि निर्देशक डा झाले निशुल्क रगत उपलव्ध गराउने विषयमा केही माग सम्वोधन हुने बताएको स्मरण गर्दै कर्माचार्यले अहिले एकाएक मूल्य गर्दा आफूहरु स्तव्ध भएको बताए । समाजले रगतको मूल्य बृद्धि गर्ने जस्तो कुत्सित कार्यको भत्सर्ना गरेको बताएको छ ।