नेत्रावती डवजोङको प्रवक्तामा ठाकुर गुरुङ चयन

Avatar photo
Dhadingpost
जेष्ठ २०, २०७९

धादिङ । धादिङ र आशपासका जिल्लाहरुमा संचारकर्मीको रुपमा चिनिने ठाकुर गुरुङ यतिबेला युवा राजनीतिकर्मी हुँदै जनप्रतिनीधिका रुपमा चिनिन थालेका छन् । नेपाली कांग्रेस नेत्रावती डवजोङका सभापति समेत रहेका उनै ठाकुर गुरुङ बैशाख ३० गत सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नम्बर १ को अध्यक्षमा निर्वाचित भए ।

वडा अध्यक्ष गुरुङलाई गाउँकार्यपालिकाको पहिलो बैठकले नेत्रावती डवजोङ गाउँपालिकाको प्रवक्ताको थप जिम्मेवारी समेत प्रदान गरेको छ । पहिलो बैठकले नेत्रावती डवजोङ भित्रका सरकारी विद्यालयले कुनै पनि बहानामा शुल्क लिन नपाईने र निशुल्क शिक्षालाई कडाईका साथ कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । बृद्धा भत्ता गाउँ-गाउँ गएर वितरण गरिने, हरेक ३-३ महिनामा एमबीबीएस डाक्टर टोल-टोलमा पुर्याई स्वास्थ्य परिक्षण गरिने । नेत्रावती डवजोङका कुनै पनि नागरिकको निधन भएमा ७ दिन भित्र घरमै पुगेर मृतकको परिवारलाई काजक्रिया खर्च स्वरुप १० हजार प्रदान गरिने लगायतको निर्णय गरेको छ ।

नेत्रावती डवजोङमा कांग्रेसले यो निर्वाचनमा आफ्नो पकड जमाएको छ । पालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडा कांग्रेसले जितेको छ । वडा नम्बर ४ भने एमालेले जित्दै क्लिनस्वीप हुनबाट जोगियो भने माओवादीले कुनै वडा जित्न सकेन । यस्तै एकीकृत समाजवादीले पनि आफ्नो उपस्थिति देखाउन असर्मथ बन्यो ।

विजेता वडा अध्यक्षहरु
नेत्रावती डबजोङ १ ठाकुर गुरुङ, कांग्रेस
नेत्रावती डब्जोङ २ मिनबहादुर तामाङ, कांग्रेस
नेत्रावती डब्जोङ ३ मा सुरेश गुरुङ, कांग्रेस
नेत्रावती ४ मा तिल बहादुर गुरुङ, एमाले
नेत्रावती डवजोङ ५ मा हरि अधिकारी, कांग्रेस