
धादिङ । धादिङ उद्योग वाणिज्य संघको निर्वाचन भएको २ महिना पछि पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको छ । चैत्र १० गते १०औँ अधिवेशन सुरुभई १४ गते सकिएको थियो तर नव निर्वाचित समितिलाई आज पद हसतान्तरण गरिएको हो ।
आज भएको पद हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष रुद्रबहादुर खत्रीले नवनिर्वाचित अध्यक्ष बिष्णु प्रसाद थपलियालाई निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए । निवर्तमान अध्यक्ष खत्रीको अध्यक्षता रहेको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्लारनगर उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्य तथा विशेष अतिथिहरुमा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल थिए ।
प्रमुख अतिथि श्रेष्ठले उद्योग वाणिज्य संघले सदैव जिल्लाको व्यवसायीहरुको हकहितको लागि काम गर्ने गरेको भन्दै नवनिर्वाचित सदस्यहरुलाई नँया नँया कार्ययोजना बनाई काममा लागन आग्रह गरेका थिए ।
चैत्र १४ गते सम्पन्न अधिवेशनले थपलियाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको थियो । संघको वरिष्ठ उपाध्यक्षमा रामकुमार डल्लाकोटी, उत्तरी क्षेत्रीय कार्यसमितितर्फ सरोज बुढाथोकीको अध्यक्षतमा आठ सदस्यीय कार्यसमिति चयन भएका थिए । यसैगरी, मध्यक्षेत्रीय कार्यसमिति नारायणकुमार श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय र दक्षिणी क्षेत्रीय कार्यसमितितर्फ उमेश रुवालीको अध्यक्षतामा आठ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको थियो
सहमति अनुसार संघको कार्यसमितिमा अहिले अध्यक्षसहित ७ जना नेपाली कांग्रेसनिकट, वरिष्ठ उपाध्यक्षसहित ११ जना माओवादी केन्द्र निकट, ७ जना एमाले निकट, ५ जना एकीकृत समाजवादी निकट, एकजना जसपा निकट र १ जना राप्रपा निकट व्यवसायी चयन भएका छन् ।
